arrow

प्रधानमन्त्री कप पुरुष क्रिकेट शुरूः पुलिस र मधेसको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
tu-pm-cup-2080.jpg

काठमाडौँ । रसिद खानको शतकसँगै यादगार प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार पुलिसले बागमतीलाई ६८ रनले हराउँदा रसिदको एक सय ६ रनसँगै बलिङमा पनि दुई विकेट लिए । 

शनिबार भएका अन्य दुई खेलमा मधेस प्रदेशले कोशीलाई हराउँदा लुम्बिनी प्रदेशले भैरहवामा गण्डकी प्रदेशमाथि ४ विकेटको जित निकाल्यो । 

दुई सय ८३ रनको लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा दुई सय १४ रनमा समेट्दै पुलिसले सहज जित निकालेको हो । बागमतीका ओपनर आंशुतोष घिरैयाले सर्वाधिक ९२ रनको योगदान गरे । उनले ८७ बलमा ९ चौका र चार छक्का प्रहार गरे ।

इशान पाण्डेले ४४, सोनु देवकोटाले १९, विपिन आचार्यले १७, गौतम केसीले १३ र प्रतिक श्रेष्ठले १० रन जोडे पनि बागमतीको जितका लागि पर्याप्त भएन । 

पहिलो विकेटका लागि आशुतोष र इशानले ९६ रनको साझेदारी गरे । पुलिसको बलिङमा सागर ढकालले तीन, करण केसी, राशिद खान र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८२ रनको योगफल बनायो ।
सातौं नम्बरमा आएका रसिदले एक सय १२ बलमा ९ चौका र ६ छक्कासहित एक सय ६ रनमा अविजित रहेपछि पुलिसले विशाल योगफल बनाएको हो । 

आरिफ शेखले ६६ बलमा पाँच चौका र एक छक्कासहित ५७, दीपेन्द्रसिंह ऐरीले २१, सुनिल धमला र अर्जुन साउदले समान २०, करण केसीले १५ र दिलिप नाथले १३ रन बनाए । 

छैटौँ विकेटका लागि रसिद र आरिफले एक सय २० रनको साझेदारी गरे । रिजन ढकाल र सूर्य तामाङले समान तीन तथा गौतम केसी र सोनु देवकोटाले समान एक विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेसले कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुखद् शुरुआत गरेको छ । 

एक सय २८ रनको सामान्य लक्ष्य मधेसले २०.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै एक सय ७९ बल अगावै पूरा ग¥यो । विकेटकिपर तथा ओपनर अनिलकुमारले ५४ बलमा ८८ रन जोड्दै मधेसलाई जित दिलाए । 

उनको इनिङमा १४ चौका र तीन छक्का रह्यो । कप्तान तथा ओपनर हरिशंकर साहले चार चौकासहित २४ रन जोडे ।

यी दुई बीच ९३ रनको साझेदारी नै मधेसको जितका लागि पर्याप्त भयो । कोशीका सोनु मण्डलले दुई र सुजन थपालियाले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा एक सय २७ रनमा अलआउट भयो । कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा सात चौकासहित ४० रन जोडे । 

फिर्दोस अन्सारीले ४१ रन बनाए । अन्सारीले ७१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यी दुई बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेसका प्रदीप पासवानले सात ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १५ रन मात्र खर्चिए । पवन सर्राफ, राजेश यादव र रञ्जीत कुमारले समान २ विकेट लिए । 

विशाल पटेलको नाममा एक विकेट रह्यो । कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ । 

शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ