- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सन्दीप जोराको शतकमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले हराउँदा कर्णालीले भैरहवामा गण्डकी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो ।
एपीएफ र कर्णालीले पहिलो खेलमा जित निकाल्दै जारी प्रतियोगितामा सुखद् शुरुआत गरे । बागमती र गण्डकीको भने दोस्रो हार हो । एपीएफलाई दोस्रो जित दिलाउन सन्दीपले एक सय १२ रनको शतकीय इनिङ्स खेले ।
उनकै ब्याटिङ प्रेरणामा एपीएफले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा एक सय ५२ रनमै समेटियो । एपीएफको उत्कृष्ट बलिङ सामु बागमतीले पूरै ओभर खेल्न नै सकेन ।
खराब शुरुआत गरेको बागमतीका कप्तान रीत गौतमले ६० रन र ओपनर आशुतोष घिरैयाले ४१ रनको योगदान दिए । रीतले ८९ बलमा आठ चौका प्रहार गरे । लगातार दोस्रो दिन राम्रो ब्याटिङ गरेका आशुतोषले ५७ बलमा पाँच चौका हिर्काए ।
विवेक गौतम १५ रनमा आउट हुँदा रविन जोशी २० रनमा नटआउट रहे पनि बागमतीको फराकिलो हार टार्न सकेनन् । एपीएफका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक चार विकेट लिए । उनले ९ ओभरमा एक मेडन राख्दै २६ रन मात्र दिए ।
मौसम ढकाल र अविनाश बोहराले समान दुई तथा पुरन विक र भुवन कार्कीको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले खराब शुरुआतको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ४१ रन जोड्यो ।
एक समय खातामा ४१ रन जोड्दा एपीएफका पाँच विकेट पतन भइसकेको थियो । तर मध्यक्रमका ब्याटर सन्दीपले अर्को छेउँबाट इनिङ्स सम्हाल्दै एपीएफलाई राम्रो योगफलतर्पm डोयाए । ११७ बल खेलेका सन्दीप एक सय १२ रनमा अन्तिम ओभरमा रनआउट हुन पुगे ।
उनको इनिङमा सात चौका र पाँच छक्का रह्यो । कप्तान रोहितसहित एपिएफका शीर्ष क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किए । ओपनरद्वय प्रज्वल शाही १० रन र आसिफ सेख १५ रनमा आउट हुँदा रोहित पनि दुई रनमै पवेलियन फर्किए ।
तर तल्लो क्रमका लोकेश बलमे २७ रन, अमर रौटेलाले २२ रन र अविनाश बोहोरा १७ रनमा नटआउट रहँदै एपीएफको मध्यम योगफल बनाउन मद्दत गरे । बागमतीको बलिङमा सूर्य तामाङले ३ विकेट तथा प्रतिस जिसी र रिजन ढकालले समान २ विकेट लिए । सोनु देवकोटाको नाममा एक विकेट रह्यो ।
सोमबार नै भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा कर्णालीले पनि गण्डकीलाई सात विकेटले स्तब्ध बनाउँदै प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।
४५ ओभरमा छोट्याएको खेलमा गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्यो । हिमान्शु शाहीले ५३ रनको अर्धशतकीय योगदान दिँदै कर्णाली सहज जित दिलाए ।
७१ बलमा उनले पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान तथा ओपनर रविन्द्र शाही २० रनमा आउट हुँदा निश्चल रावल २९ रनमा र अर्जुन घर्ती १० रनमा अविजित रहे ।
कर्णालीले पहिलो दुई विकेट सस्तैमा गुमायो । तर तेस्रो विकेटका लागि हिमान्शु र निश्चलले ८० रनको साझेदारी गर्दै जितको आधार तय गरे । गण्डकीको बलिङमा लागि अंकित न्यौपानेले दुई र विपिन खत्रीले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय २२ रनको योगफल बनायो । गण्डकीका शीर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
अमृत गुरुङ र कमल परियाले समान २१ रन, अश्विन रानाले १६, चन्द्र पौडेलले अविजित १४ र कप्तान विपिन खत्रीले १० रन जोड्दै गण्डकीको सय रनको आँकडा पार गराए ।
गण्डकीले अतिरिक्त २६ रन पनि पायो । कर्णालीको बलिङमा अनुज चुनरा, दीनेश अधिकारी र दीपेन्द्र रावले समान दुई तथा प्रकाश जैसी, दिवान पुन र रविन्द्र शाहीले समान एक विकेट लिए ।
कुल १० टोलीले प्रतिष्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ । शिर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन् ।