arrow

मधेससँग एपीएफ स्तब्ध, शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
pawan-sarraf-madhes-2080-10.jpg

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ ।

जितका लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले एपीएफलाई पहिलोपटक पराजित गरेको हो । 

मधेसको जितमा रुपेश सिंहले ७२ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ७२ रन बनाए । पवन सर्राफले ६४ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रनको योगदान दिए । साथै अनिल शाहले २९ रन बनाए भने अभिशेख तिवारीले १७ रन बनाए । 

एपीएफका लागि अमर रौतेला र रोहित पौडलले समान दुई–दुई विकेट लिए भने मौसम ढकालले एक विकेट झारे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनाएको थियो । 

आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिएका थिए । कप्तान रोहित पौडेलले ७४ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५८ रन जोडे भने अमर रौतेलाले ५७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ४९ रन बनाए । 

त्यस्तै सन्दीप जोराले २०, सुमित महर्जनले नौ, भुवन कार्कीले आठ तथा लोकेश बमले छ रन जोडे । मधेस प्रदेशका रुपेश सिंह र प्रदीप पासवानले समान तीन–तीन विकेट लिए ।

प्रतियोगितामा हारसँगै सशस्त्रको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । एपीएफ ३ खेलबाट ४ अंकसहित चौथो स्थाननै खुम्चिएको छ । अहिलेसम्म २ टिममात्र अपराजित छन् । सुदूरपश्चिम ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । नेपाल पुलिस क्लब २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । 

त्रिभुवन आर्मी क्लब ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । बागमती प्रदेश ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ । कर्णाली प्रदेश र मधेस प्रदेशको समान ४ अंक छ । लुम्बिनीको २ अंक छ भने गण्डकी प्रदेश र कोशी प्रदेश अंकविहीन छन् । प्रतियोगितामा १० टिम छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ