arrow

प्रधानमन्त्री कपमा बागमतीको लगातार तेस्रो जित, कमजोर कोशी पराजित  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
pmcup-bagmati-2080.jpg

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । 

जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पछ्याएको कोशी प्रदेशले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय नौ रनमा समेटियो । कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ७६ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे । साथै कप्तान अङ्कित सुवेदीले ५३ रन बनाए । उनले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अशीष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए । 

बलिङतर्फ बागमतीका इशान पाण्डे पाँच विकेट लिए भने सूर्य तामाङले दुई विकेट लिए । त्यस्तै प्रतीक श्रेष्ठ र रिजन ढकालले समान एक–एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले  ब्याटिङको निम्तो पाएको बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे । 

त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरेका थिए । 

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिएका थिए ।

बागमती शुरुआती दुई हारपछि लगातार तेस्रो जितसहित ६ अंकबाट दोस्रो स्थानमा पुगेको छ । सबैभन्दा कमजोर कोशी अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ