arrow

प्रहरीको १३ घण्टे अप्रेशन

उपत्यकाका चार ठाउँबाट चार जना पक्राउ, दुई करोड ३१ लाख बरामद 

अवैध हुण्डी मात्र होइन सुनको कारोबारमासमेत संलग्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले गत साउनबाटै सुन, हुण्डी र क्रिप्टोमा संलग्न रहेको एउटा गिरोह रहेको सूचना नेपाल प्रहरीलाई दिइरहेको थियो । 

नेपाल प्रहरीले त्यो गिरोहमा केही हदसम्म सफल अनुसन्धान अघि बढे पनि सशस्त्रले भनेकै केही व्यक्तिहरु भने छुटेका थिए । तर सशस्त्रको इन्टेलिजेन्स ब्युरोले त्यो गिरोहलाई निरन्तर पछ्याइरह्यो । 

अन्नतः दुई दिनअघि सशस्त्रको सो टोलीले क्षेत्रपाटीमा केही व्यक्तिको ओहोरदोहोर देख्यो । त्यसमा केही समयको निगरानीपछि सशस्त्रकै हेडक्वार्टरमा रहेको इन्टेलिजेन्स ब्युरोले हुण्डी, क्रिप्टो लगायतको अवैध कारोबार गरी राजस्व छलि भइरहेको सूचना पुष्टि गरी राजश्व अनुसन्धान विभागलाई सूचना दियो ।

सोही सूचनाको आधारमा राजस्व विभागमा रहेको सशस्त्रको टोलीसहितले बिहीबार दिउँसो ३ बजेदेखि उपत्यकाका ४ ठाउँमा अपरेशन शुरु गर्यो । 

त्यस क्रममा ४ जनालाई पक्राउ गर्नुको साथै २ करोड भन्दा बढी रकमसमेत बरामद गर्यो । बिहीबार दिउँसो ३ बजेबाट शुरु भएको अपरेशन शुक्रबार बिहानीपख ४ बजेसम्म गोप्य रुपमै चल्यो ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दिएको जानकारी अनुसार पक्राउ परेका नरेश  अग्रवाल अवैध हुण्डी मात्र होइन सुनको कारोबारमा समेत संलग्न रहेका छन् । 

त्यही सूचनाको आधारमा राजश्व र सशस्त्र प्रहरीको टोलीले शुरुमा हनुमानढोका क्षेत्रमा अपरेशन चलाइएको थियो । 

हनुमानढोकाको मखनबाट थर नखुलेका दीपक नाम गरेका व्यक्तिलाई ३५ लाखसहित पक्राउ गरिएको थियो । 

उक्त अपरेशन सकिएपछि ताहचलमा अपरेशन शुरु भएको थियो ।  ताहचलबाट ७३ लाख रुपैयाँसहित मोहन साह नाम गरेका व्यक्ति पक्राउ परेका थिए । 

त्यसपछि कलंकीमा अपरेशन शुरु भएको थियो । कलंकीबाट २३ लाख रुपैयाँसहित विवेक कार्की नाम गरेका व्यक्ति पक्राउ परे । अन्तिममा यो अपरेशन क्षेत्रपाटीमा आएर बिहान ४ बजे टुंगिएको थियो । 

क्षेत्रपाटीबाट एक करोड रुपैयाँभन्दा बढी रकमसहित नरेश अग्रवाल पक्राउ परेका थिए । यो सबै एउटै चेनको रुपमा हुण्डीको कारोबार देखिएको विभाग स्रोतले जनाएको छ । 

अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । 

अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । 

यसअघि सशस्त्र प्रहरीको इन्टेलीजेन्स ब्युरोले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएका भेपको सुनमा लोकेन्द्र पौडेलको संलग्नता रहेको भन्दै प्रहरीलाई सूचना दिएको थियो । 

पछि प्रहरीले पौडेलमाथि अनुसन्धान गरी मुद्धासमेत चलाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ