arrow

प्रधानमन्त्री कप क्रिकेटः अपराजित पुलिसको पाँचौँ जित, सुदूरपश्चिम दोस्रोमा, कोशीको आठौँ हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
pmcup-police-madhes.jpg

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसले मधेसमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो । पुलिसले ५ खेलमा १० अङ्क जोड्दै अङ्क तालिको शीर्ष स्थानमा यथावत् छ । यता मधेसले ७ खेलमा ८ अङ्क जोडेको छ । मधेश अङ्क तालिकाको पाँचौँ स्थानमा छ । 
    
मधेसले प्रस्तुत गरेको ९७ रनको समान्य लक्ष्य पुलिसले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसका लागि सुनिल धमलाले सर्वाधक २८ रनको योगदान दिए । 

त्यस्तै कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए । मधेशका लागि रञ्जीत कुमार र अर्निको यादवले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २४ ओभरमा सबै विकेट  गुमाउँदै ९६ रनको योगफल बनाएको थियो । मधेसका लागि अर्निको यादवले २३, कप्तान हरिशङ्कर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए ।

पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट झारे । त्यस्तै राशिद खानले एक विकेट लिए । 

सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो, कोशीको आठौँ हार
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो । 

जितसँगै पाँच खेलमा चार जितसँगै आठ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने आठ खेलमा सबै खेल हारेर अङ्कबिहीन बनेको कोशी प्रदेश पुच्छारमा छ ।

कोशीले प्रस्तुत गरेको एक सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४९ बलमा सात चौका प्रहार गरे । प्रकाश पाण्डेले अविजित ३४ बनाए भने कप्तान राजु रिजालले २१ रन बनाए । 

कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो । कोशीका लागि मिनाश थापाले २६, कप्तान अङ्कित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए । 

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले पाँच विकेट र विकाश आग्रीले चार विकेट लिए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशको पनि समान ८ अंक छ । कर्णाली प्रदेशको ६, सशस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेशको समान ४ तथा लुम्बिनी प्रदेशको २ अंक छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ