arrow

क्यानडा पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानडा पठाउने बहानामा ठगी गरेको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ । गिरोहमा ६ जना संलग्न रहेको बताइएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालका वडा नं. १३ पाटनवेशीकी वर्ष ६५ की पार्वती सुनार, पोखरा-९ महेन्द्रपुलकी वर्ष ३७ की रीता सुनार, स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं. ३ की वर्ष ३२ की सीमा सुनार, काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीका वर्ष ३८ का प्रदिप उपाध्याय रहेका छन् ।

यसैगरी क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटीका वर्ष ४५ को राकेश जैसवाल, भारत मध्यप्रदेश भोपाल नगर स्थायी घर भएका वर्ष ३२ का ईस्मित कौर पनि सोही मुद्धामा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले पोखराको बुद्धचोकस्थित होटल टाक्समा बसेर क्यानडा लैजान्छु भनी विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएका थिए ।

क्यानडा जानका लागि प्रतिव्यक्ति तीस लाख रुपैयाँ लाग्ने उक्त रकम अन्तर्वाता पास भएपछि दिनुपर्ने र अन्तर्वार्ताका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्ने भन्दै प्रत्येक व्यक्तिबाट दुई हजार रुपैयाँ उठाई अन्तर्वार्ता लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले गैह्रकानूनी काम गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले अन्तरवार्तामा बोलाउनका लागि तयार गरेको नामावली रेकर्डमा ६० जना उल्लेख भएको तर उनीहरुबाट पैसा लिए, नलिएको भन्ने विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरु विरुद्ध ठगीसम्बन्धी मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी विकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ