arrow

घुस्याहा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
china-flag.png
तस्बिर – फाइल ।

बेइजिङ । मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचार विरुद्धको कारबाही अन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको सरकारी मिडियाले बताएको छ । 

सरकारी प्रसारक सीसीटीभीको रिपोर्टअनुसार चाइना डेभलपमेन्ट बैंकका उपाध्यक्ष भइसकेका हे जिङजियाङलाई बेइजिङको एक अदालतले ‘घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको’ अभियोगमा सजाय सुनाएको छ । 

रिपोर्टमा उनलाई अधिकारीहरूले अनुसन्धानको दायरामा राखेपछि उनको अपराध सन् २००६ देखि सन् २०२१ सम्म भएको बताइएको छ । सीसीटीभीले ६० वर्षीय हेमाथि ५१ लाख युआन (करिब सात लाख २० हजार अमेरिकी डलर) जरिवानासमेत गरिएको बताएको छ । 

चीनका राष्ट्रपति सी चिनफिङले एक दशकअघि सत्तामा आएपछि गहिरोसँग व्याप्त आधिकारिक भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन् । समर्थकहरूले राष्ट्रपति सीको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताएका छन् । यद्यपि आलोचहरूले यसले राष्ट्रपति सीको राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग गरेको बताएका छन् । 

हालै भ्रष्टाचार विरुद्धको अभियानले मुलुकका केही शीर्ष फाइनान्सरहरूलाई निशाना बनाएको छ । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका अर्का पूर्वउपाध्यक्ष झोउ छिङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो । 

गत साता राज्यको स्वामित्व भएको चिनियाँ बैङ्किङ एभरब्राइट समूहका पूर्वअध्यक्षलाई भ्रष्टाचार तथा घुसखोरीको आशङ्कामा पक्राउ गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ