arrow

डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
pratik-pradhan-shekhar-koir.jpg

विराटनगर । डिजिटल मिडिया सोसाइटीका अध्यक्ष एवं बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान नोना कोइराला पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । 

आइतबार विराटनगरमा एक कार्यक्रमबीच प्रधानलाई नोना कोइराला स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो । प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानलाई पुरस्कार प्रदान गरे ।

प्रधान यसअघि कारोबार र नागरिक दैनिकमा प्रधानसम्पादक तथा काठमाडौं पोष्टमा सम्पादक थिए ।

प्रधानले अमेरिकाका दुई विश्वविद्यालयबाट पत्रकारितासहित दुई विषयमा स्नातकोत्तर गरेका छन् । 

पुरस्कृत भएपछि प्रधानले पुरस्कार पाउनकै निम्ति पत्रकारिता नगरिने भन्दै कामको कदरस्वरूप पुरस्कृत गरेकामा धन्यवाद दिए ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय प्रधानलाई व्यावसायिक पत्रकारिताको विकास र लोकतन्त्रको उन्नयनमा गरेको योगदानको कदर गर्दै पुरस्कृत गरिएको नेता कोइरालाले बताए ।

कोइरालाले नोना कोइरालाको स्मरण गर्दै राजनीतिमा नैतिकता र संस्कार आवश्यक रहेको उल्लेख गरे । त्यो आफूले पारिवारिक विरासतका रूपमा प्राप्त गरेको उनले बताए ।

२०६४ सालमा स्थापित प्रतिष्ठानले पत्रकारिता, स्वास्थ्य र सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आएको यसका पूर्वअध्यक्ष डा. नारायण कुमारले बताए ।

उनका अनुसार, प्रतिष्ठानले यसअघि पत्रकारिता कलेज समेत सञ्चालन गरेको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तहसम्म पुनः सञ्चालन गर्ने तयारी रहेको उनले कार्यक्रममा जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ