arrow

नेपाली नक्कली कागजात बनाएर भारतमा काम खोज्दै चिनियाँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
Nepal-India-china-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतले चीनका विभिन्न आपराधिक गतिविधि रोक्न निकै नै प्रयास गरेको छ । तर सफल हुन सकिरहेको छैन । चिनियाँ उत्पादनमासमेत रोक लगाइरहेको छ । 

चिनियाँ कम्प्युटर एप्लिकेशनहरु त भारतले अझ बढी रोक लगाइरहेको छ । यति हुँदा पनि भारतमा चिनियाँहरु बढ्दै गइरहेको पाइएको छ । तर उनीहरुको परिचय चिनियाँ नभइ नेपालीका नाममा हुने गरेको छ । 

चिनियाँहरूले गैरकानूनी रुपमा नेपाली कागजपत्रसहित भारतका विभिन्न क्षेत्रमा सरकारी सेवालगायत भारतका विभिन्न क्षेत्रमा रोजगारी खोजी गरिरहेकोसमेत पाइएको छ ।  

भारतले नेपालीलाई सन् १९५० को शान्ति सन्धि बमोजिम विभिन्न क्षेत्रमा रोजगारी दिने, घर निर्माण गर्न र जग्गा खरिदका लागि अनुमति दिएको छ। यसैको फाइदा उठाउँदै चिनियाँहरुले अपराधका गतिविधिहरु बढाउने गरेको भारतीय सञ्चारमाध्यमहरुले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेका छन् । 

नेपालमा चिनियाँहरुले अनलाइन ठगीका गतिविधिहरूमा समेत सक्रियता बढाएका छन्। नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्‍न भएको पाइएको छ।

काठमाडौँ महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन् । 

यसअघि काठमाडौँबाट अपहरण भएका नागरिकलाई सिन्धुपाल्चोक पुर्‍याइएको थियो। अपहरण गरिएकाहरुलाई प्रहरीले घाइते अवस्थामा फेला पारेको थियो।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको पालादेखि नेपालमा चिनियाँहरुको उपस्थिति बढ्दै गएको छ। उनीहरुको उपस्थितिमात्र नभएर अधिकांश आपराधिक गतिविधिहरुमा पनि सक्रियता बढाएका छन्।

यसअघि सयौँ चिनियाँहरु अपराधिक गतिविधिमा संलग्‍न भएको पाइएपछि पक्राउ गरिएको थियो। चिनियाँ सत्ताको दबाबमा यसरी आपराधिक गतिविधिहरुमा सक्रिय भएकाहरुलाई स्वदेश फिर्तासमेत गरिएको थियो। यसरी कुनै सजायबिना नै अपराधिक उन्मुक्ति पाएपछि अपराधका घटनामा संलग्‍नता थप बढेको तथ्यांकले देखाएको छ।

नेपाललाई चिनियाँ सुन तस्करहरुले आधार क्षेत्र नै बनाएको पाइएको छ। नेपालमा आपराधिक घटनामा संलग्‍न चिनियाँहरु अवैधरुपमा भारतसमेत प्रवेश गरिरहेका छन्। 

यसरी अवैध रुपमा भारत प्रवेश गर्न लागेका १५ चिनियाँ नागरिकहरु भारतीय सीमा क्षेत्रबाट एकैपटक पक्राउ परेका थिए । उनीहरुमध्ये केहीको साथमा नेपाली नागरिकता र अन्य कागजाहरुसमेत फेला परेका थिए । 

नेपाल र भारतमा गैरकानूनी काम गर्न धेरै चिनियाँले नेपाली नागरिकताको नक्कली प्रमाणपत्र र राहदानी तयार पारेकासमेत खुलेको छ।

सुन तस्करी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेका करिब १० चिनियाँले पनि मणिपुरबाट नक्कली भारतीय आधार कार्ड बनाएको पाइएको थियो । उनीहरू नेपालमा सुन तस्करी र अन्य अपराधमा संलग्न भएको खुलेको हो ।

चिनियाँहरूले स्थानीय अधिकारीहरूलाई घुस दिएर उत्तरी क्षेत्र (हिमाल)बाट नेपाली नागरिकताको नक्कली कागजात बनाउने गरिरहेको पाइएको हो । यस्ता चिनियाँहरूले आगामी वर्षहरूमा उत्तरी क्षेत्रको जनसांख्यिकी परिवर्तन गर्न सक्ने भन्दै जोखिम बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ