arrow

अवैध सुन प्रकरणमा कृष्णबहादुर महरासहित तीन जनाको बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
krishnabahadur-mahara-rahul-mahara-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरासहित एकै दिन तीन जनासँग बयान लिएको छ । 

आयोगले विद्युतीय चुरोट (भेप) मार्फत आएको सुन तस्करीबारे महरासँग बयान लिएको हो । साथै ब्रेक प्याडमा हालेर ल्याइएको ६० किलो सुन र विद्युतीय चुरोट (भेप) मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणका विषयमा भीमकान्त भण्डारी र सहसचिव झलकराम अधिकारीसँग बयान लिएको हो । 

महराले बयानको क्रममा तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको स्वीकार गरेका छन् । उनले सुन तस्करीको सामान छुटाउन नभइ फलफूल व्यापारी दाओजिन वाङको आग्रहमा फोन गरेको स्वीकार गरेका हुन् । 

महरा भेपमा हालेर ल्याइएको ९ किलो सुन प्रकरणमा जोडिएका व्यक्ति हुन् । सुन तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको सम्पर्क भएको देखिएको र स्वयं महराले पनि भेटघाट र कुराकानी भएको स्वीकार गरेका थिए । 

उक्त प्रकरणमा उनका छोरा राहुल अहिले पुर्पक्षका लागि थुनामा छन् । भण्डारीसँग हाल पुपक्षका लागि थुनामा रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुराकानी भएको पाइएपछि बयान लिइएको हो । 

आयोगले ६० किलो सुन तस्करी र भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको हो । यसअघि भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा समेत भण्डारीको नाम जोडिएको थियो ।

आयोगले सुन तस्करसँग जोडिएका सहसचिव अधिकारीसँग पनि बयान लिइसकेको छ । सीआईबीले मुख्य अभियुक्त बनाएका दावा छिरिङसँग अधिकारीको नियमित सम्पर्क रहेको विवरण बाहिरिएको थियो । 

राजस्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग महानिर्देशक अधिकारीको विच्याटमा आर्थिक लेनदेन समेतको कुराकानी भएको देखिएको थियो । उनी २०७९ फागुन १७ गतेदेखि अध्यागमन विभागका महानिर्देशक थिए । 

उनी महानिर्देशक भएपछि नै सुन तस्करी सुरु भएको थियो । त्यसक्रममा उनले दावा छिरिङसँग विच्याटमा कुराकानी गरेको पाइएको छ । उनकै कारण तस्करीलाई बल पुगेको सिआइबीको दाबी छ । उनलाई विच्याटमा पानी तान्ने पम्पको समेत तस्वीर पठाएर त्यसबाटै सुन तस्करीमा सहयोग गरेको आरोप छ । 

भियना होटलका मालिक दावा छिरिङ अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदानप्रदान विवरण पनि प्रहरीले भेटाएको थियो । 

सीआईबीले विच्याटमा अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानबारे कुराकानी भएको थियो । विच्याटमा दावाले विभिन्न सन्दर्भमा अधिकारीलाई बधाईसमेत दिएको देखिएपछि अधिकारीसँग सीआईबीले बयान लिए पनि पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले रोकेका थिए । 

अहिले उनलाई नेपाल ट्रष्टमा सरुवा गरेर पुरस्कृत गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ