- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मध्यपूर्वमा सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण पुगेका छन् । मोदीले आज राजधानी अबुधाबीमा यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राजधानी अबुधाबीमा एउटा सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गरेको एक दिनपछि आज उनले मन्दिरको उद्घाटन गर्नेछन् ।
लगानी तथा व्यापार सम्बन्ध बढाउन पनि मोदीले यो भ्रमण गरेका हुन् । मोदीको दुई दिवसीय भ्रमणको प्रारम्भमा दुवै सरकारले प्रमुख व्यापार र यातायात मार्गमा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका छन् । मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो युएई भ्रमण हो । उनको यो भ्रमण अप्रिलमा शुरु हुने भारतको राष्ट्रिय निर्वाचनअघि भएको हो ।
युएईमा रहेका भारतीयहरूले विदेशबाट मतदान गर्न नपाउने भए पनि यो भ्रमण मुख्यरूपमा प्रवासी भारतीयहरूलाई प्रेरित गर्नेमा केन्द्रित रहेको विशेषज्ञहरूले बताएका छन् । युएईमा करिब ३५ लाख भारतीय रहेका छन् । उनीहरू खाडी देशको सबैभन्दा ठूलो आप्रवासी समुदाय हुन् ।
भारतीय विदेश मन्त्रालय तथा स्थानीय सरकारी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीले मङ्गलबार युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गरे । पछिल्लो आठ महिनामा उनको यो पाँचौँ भेट हो । उनहरूले द्विपक्षीय लगानी सन्धि, २०२२ मा हस्ताक्षर भएको बृहत् आर्थिक साझेदारी सम्झौतामा निर्माणलगायत धेरै सम्झौतामा हस्ताक्षर गर्नुभएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
उनहरूले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरमा ‘अन्तरसरकारी ढाँचा सम्झौता’ मा पनि हस्ताक्षर गरेका छन् । यो एक जहाज–देखि–रेल ट्रान्जिट नेटवर्क हो र यो विद्यमान सामुद्रिक र स्थल मार्गमा पूरक हुनेछ ।
सेप्टेम्बरमा नयाँदिल्लीमा जी२० शिखर सम्मेलनका अवसरमा पहिलोपटक आधुनिक स्पाइस रुटको महत्त्वाकांक्षी योजनाको घोषणापछि आएको सम्झौताका बारेमा मन्त्रालयले विस्तृत जानकारी दिएको छैन ।
तीन दशकमा कुनै पनि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमणका रूपमा मोदीले सन् २०१५ मा युएईको ऐतिहासिक भ्रमण गर्नु भएपछि सम्बन्ध विस्तारै गहिरो हुँदै गएको छ ।
सन् २०२२ र सन् २०२३ को बीच करिब ८५ अर्ब डलरको द्विपक्षीय व्यापारका साथ युएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।