arrow

विश्वकप लिग–२

नेदरल्याण्ड्सविरुद्ध नेपालको उत्कृष्ट बलिङ, जितका लागि १३८ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
nepal-cheers-2024-02-17.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग– २ को दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । कीर्तिपुर मैदानमा नेपालले शानदार बलिङ गरेको छ । 

टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमै रोक्यो । नेदरल्याण्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको हो । 

बस डे लिडेले सर्वाधिक ३३ रन बनाएको इनिङ्सलाई सस्तैमा सम्ट्ने क्रममा कुशल भुर्तेलले ७ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै ललित राजबंशीले २ विकेट लिए । 

त्यस्तै सोमपाल कामी, र रोहित पौडेलले १–१ विकेट लिए । दुई खेलाडी रन आउट भए । 

नेपाल घरेलु मैदानमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ भने नेदरल्याण्ड्स एसोसिएट राष्ट्रहरुमा बलियो टिम हो । आईसीसी एक दिवसीय वरीयतामा नेदरल्याण्ड्स १४ औँ र नेपाल १५ औँ स्थानमा रहेको छ । 

यसअघि गत बिहीबार आईसीसी लिग २ कै पहिलो खेलमा नेपाल आफूभन्दा एक स्थान पछाडि भएको नामिबियासँग पराजित भएको थियो । 

नेपालले घरेलु मैदानमा त्रिदेशीय एक दिवसीय श्रृंखला खेलिरहेको हो । 

नामिबिया विरुद्धको पहिलो खेलः
आईसीसी लिग २ मा नेपालले खराब शुरुआत शुरुआत गरेको छ । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमै पराजय भोगेको हो । 

कीर्तिपुर मैदानमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । कमजोर ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १३२ रन बनाउन सक्यो । 

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । 

जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका लागि जान फ्राइलिंकले ३४ रन बनाए । 
 
घरेलु मैदानमा विश्वकप लिग–२ को नयाँ सर्कल बिहीबारदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय श्रृंखलाअन्तर्गत पहिलो श्रृंखला नेपालमा भइरहेको हो । 

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता रहेको छ । 

पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको हो । अन्य टिममा क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ