arrow

एमालेले थाल्यो पार्टी शुद्धीकरणका लागि नौ समूह बनाएर सुझाव संकलन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
uml-central-2080-11-09.jpg

काठमाडौँ । सत्ता गठबन्धनभित्र विस्तारै विवादका श्रृंखला बढिरहेका बेला नेकपा एमालेले पार्टीभित्र देखिएका समस्यालाई सम्बोधन गर्न ९ वटा समूह बनाएर सुझाव संकलनमा लागेको छ । 

मंगलबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा पेस गरिएको पार्टी शुद्धीकरणसम्बन्धी प्रतिवेदनमा विभिन्न पार्टीमा ६ समस्या देखिएको भन्दै त्यसलाई समाधन गर्नका लागि ९ वटा समूह बनाएको हो । 

बैठकमा वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरुपताको समस्या देखिएको, पार्टी कमिटीहरुलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने समस्या रहेको तथा पार्टी सदस्यता वितरण गर्ने, विस्तार र गुणस्तरमा वृद्धि गर्ने कुरामा पनि समस्या रहेको उल्लेख गरिएका तीन वटा प्रतिवेदन पेश भएका छन् । 

पार्टी प्रवेश गराउने कुरालाई व्यवस्थित गरिनुपर्ने, पारदर्शिता, असल आचरण, स्वच्छता र जनशैलीको विकाससम्बन्धीमा पनि व्यवहारिक हिसाबले हल गरिनुपर्नेमा जोड दिइएको छ । 

यस्तै जनसम्पर्क तथा जनसम्बन्धलाई विस्तार गर्ने कुरामा पनि समस्या रहेकाले यसको पनि व्यवहारिक हल खोजिनुपर्नेमा जोड दिइएको छ ।  यसबाहेक प्रतिवेदन समस्याहरुको प्राथमिकताका आधारमा छलफल गरिनुपर्नेमा जोड दिइएको छ । 

जसअनुसार कमिटी प्रणालीलाई कसरी मजबुत बनाउने, सदस्यता वितरण तथा नवीकरणलाई कसरी व्यवस्थित बनाउने तथा जनसम्बन्धलाई विकास र विस्तार कसरी गर्ने भन्ने विषयमा सुझाव माग गरिएको छ । 

यस्तै पार्टी प्रवेशलाई पनि व्यवस्थित बनाउँदै अभिलेखबद्ध बनाउनु पर्ने प्रस्तावसहित पारदर्शी जीवनशैली अवलम्बनबारे सुझाव माग गरिएको छ । ‘बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदवाव सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणा सहितका कार्ययोजना प्रस्तुत गरे । 

बैठकमा प्रस्तुत अवधारणाहरु उपर छलफल गरी निचोडमा पुग्नका लागि स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको छ । बैठकमा प्रस्तुत अवधारणाउपर बुधबारदेखि समूहगत छलफल शुरु हुनेछ’, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । 

बुधबार बिहानबाट प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएका समस्याका साथै समग्र पार्टीलाई शुद्धीकरण सुदृढीकरणका लागि केन्द्रीय समितिबाट एमालेले छलफल तथा बहस चलाउने जनाएको छ । 

विचारमा स्पष्टता, सुदृढ संगठन, कम्युनिस्ट आचरण र प्रभावकारी जनशैलीको आवश्यकता खट्कँदो रहेको भन्दै एमालेले पार्टीमा समस्या कहाँ रहेका छन् ? सच्याउनुपर्ने र सुधार गर्नुपर्ने विषयहरू के के हुन् ? पार्टीको प्रभावकारिताका लागि के के गरिनुपर्छ ? भन्नेबारे छलफल केन्द्रीय समितिबाट छलफल चलाउन लागेको हो ।

 ‘पार्टीमा देखापरिरहेका समस्याहरूलाई चिन्हित गर्ने र समाधान गर्ने सम्बन्धमा सिंगो नेतृत्वपंक्ति यी विषयमा एक ठाउँमा उभिनुपर्ने र एउटै आवाजमा बोल्नुपर्ने आवश्यकता छ । यतिबेला पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको आवश्यकता छ । त्यसका लागि केन्द्रीय कमिटीको यो बैठकमा हामी छलफल गर्न गइरहेका छौँ । यसमा यहाँ उपस्थित हुनुहुने सबै केन्द्रीय कमिटीका सदस्य कमरेडहरूले खुलस्त रूपमा छलफल गर्नुहुनेछ ,’ पेश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ