arrow

विश्वकप लिग–२

दबाबबीच आसिफले बनाए नामिबियाविरुद्ध अर्धशतक, नेपालको सुधाराेन्मुख प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
aasif-sheikh-2024-02-21.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग– २ को तेस्रो खेलमा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ । प्रतिकूल मौसमबीच कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

४३ रन जोड्दा ३ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि आसिफ शेखले अर्धशतक बनाएका छन् । उनी ६४ बलमा १ छक्का र ८ चौकाको मद्धतले ५८ रन बनाएर आउट भए ।

आसिफको यो एक दिवसीयमा १२ औँ अर्धशतक हो । पहिले दबाबमा भए पनि आसिफलाई कुशल मल्लले साथ दिएसँगै नेपाल सुधारोन्मुख स्थितिमा रहेको हो । 

चौथो विकेटका लागि ५७ रनको समेत साझेदारी भएसँगै नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १०० रन बनाएको छ । 

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित हुँदै लिग–२ मा खराब शुरुआत गरेको थियो । 

नेदरल्याण्ड्ससमेत सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्समाथि कीर्तिमानी जित हासिल गरेसँगै समान दुई खेलबाट २ अंकसहित रनरेटमा नेपाल अगाडि छ । 

आजको खेलमा नामिबियालाई पराजित गर्न सके नेपाल स्पष्ट चार अंकसहित शीर्ष स्थानमा रहिरहने छ । पहिलो खेलको हारको बदला लिन न पनि नेपालले आज जित्नैपर्नेछ । 

अर्कातर्फ नेपालले नेदरल्याण्ड्सजस्तो बलियो टिमलाई हराएपछि नामिबिया झस्किएको छ । 

आजको खेलमा मौसम भने प्रतिकूल छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम बदली रहने छ । केही समय वर्षा पनि हुन सक्नेछ । 

नेदरल्याण्ड्सविरुद्ध कीर्तिमानी जित
दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई अहिलेसम्मकै फराकिलो अन्तरले हरायो ।  नेपालले विश्वकप लिग–२ मै अहिलेसम्मको फराकिलो जित हासिल गरेको हो । 

कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । १३८ रनको चुनौती नेपालले १५.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अनिल साहले अविजित रहँदै ३६ बलमा ५७ तथा आसिफ शेखले ४५ बलमा अविजित रहँदै ५४ रन बनाए । दोस्रो विकेटका लागि दुवैबीच १०५ रनको अविजित साझेदारी भएको थियो । यसअघि कुशल भुर्तेलले ११ बलमा ३ छक्का र २ चौकाको मद्धतले २८ रन बनाए । 

यो क्रममा नेपालले एक आफू भन्दा बलियो टिमविरुद्ध अहिलेसम्मकै फराकिलो जित हासिल गर्दैै कीर्तिमान रचेको हो । 

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमै रोक्यो । नेदरल्याण्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको हो । 

बस डे लिडेले सर्वाधिक ३३ रन बनाएको इनिङ्सलाई सस्तैमा सम्ट्ने क्रममा कुशल भुर्तेलले ७ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै ललित राजबंशीले २ विकेट लिए । 

त्यस्तै सोमपाल कामी, र रोहित पौडेलले १–१ विकेट लिए । दुई खेलाडी रन आउट भए । 

एसोसिएट राष्ट्रहरुमा सबैभन्दा बलियो टिममाथि हासिल गरेको शानदार जितले नेपालको अबको यात्रा सहज हुने अनुमान गरिएको छ । नेपालले नेदरल्याण्ड्ससँग अहिलेसम्म चार खेल खेलेकामा दुवैको २–२ जितको बराबरी भएको छ । 

यसअघि त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा भने नेपालले नामिबियासँग हार बेहोरेको थियो ।

नामिबिया विरुद्धको पहिलो खेलः
आईसीसी लिग २ मा नेपालले खराब शुरुआत गरेको थियो । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमै पराजय भोगेको हो । 

कीर्तिपुर मैदानमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । कमजोर ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १३२ रन बनाउन सक्यो । 

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । 

जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका लागि जान फ्राइलिंकले ३४ रन बनाए । 
 
घरेलु मैदानमा विश्वकप लिग–२ को नयाँ सर्कल बिहीबारदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय श्रृंखलाअन्तर्गत पहिलो श्रृंखला नेपालमा भइरहेको हो । 

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता रहेको छ । 

पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको हो । अन्य टिममा क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ