arrow

यौनकाण्डमा मुछिएका यी नेताहरुको चरित्रलाई लिएर एमाले बैठकमा गम्भीर प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
uml-central-2080-11-08.jpg

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेताहरुको चरित्र र आचरणलाई लिएर प्रश्न उठाइएको छ । एमाले नेतृत्वले आचरण सुधारको विषयमा प्रश्न गरेपछि केन्द्रीय सदस्यहरुले पनि नेताहरुको चारित्रिक आचरणमा प्रश्न उठाएका हुन् ।

युवा संघबाट पार्टी राजनीतिमा उदाएका प्रभावशाली युवा नेता महेश बस्नेतको बारेमा ९ वटै समूहबाट प्रश्न उठाइएको हो । ‘महेशजीको विषयमा ९ वटै समूहबाट प्रश्न उठाइएको छ’, एमालेका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार बस्नेतको विषयमा धादिङकी जानुका पाठक (शोभा) ले बाहिर ल्याएको विषयलाई लिएर चारित्रिक प्रश्न गरिएको हो । 

बैठकको शुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राख्ने क्रममा ऐन महरको राजीनामा स्वीकृत गरिसकेको बताएका थिए । त्यस क्रममा उनले वर्ष २०८१ लाई पार्टी शुद्धीकरण वर्ष मनाउन प्रस्ताव गरेका थिए । नेता–कार्यकर्ताहरूमा विचलन देखिएकाले शुद्धीकरण अभियान नै चलाउनुपर्ने आवश्यकता पनि उनले दर्शाएका थिए ।

‘पार्टीका कतिपय नेता, कार्यकर्ता र जनप्रतिनिधिको आचरण र व्यवहारमा गम्भीर विचलन देखा परेका छन्’, उनको भनाइ थियो, ‘प्रश्नहरू सामाजिक सञ्जाल, मिडिया र जनताको लेभलबाट उठेका छन् । यसमा कडाइ नहुँदा यो व्यवहार बढ्यो । जिम्मेवार नेताकार्यकर्ता र जनप्रतिनिधिहरू आर्थिक लेनदेन, सार्वजनिक र व्यक्तिगत ठगी काण्ड, चारित्रिक रूपमा विभिन्न काण्डमा परेका समाचार आइरहेका छन् । खानपिन र उठबसमा पनि अनुशासनहीनता बढेको छ ।’ 

यतिबेला एमालेका पोलिट्ब्युरोदेखि जिल्लासम्मका नेताहरु यौनकाण्डमा मुछिएका छन् । यौन सम्बन्धबारे टेप–चर्चाले ऐन महरलाई राजीनामा गराइएको थियो । बझाङका ऐन महर, जुम्लाका सुरतबहादुर शाही, मुगुका मोहन बानियाँ, एमाले कर्णाली प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष गुलाबजंग शाह, कालिकोटका कुर्मराज शाही मात्र होइन, भक्तपुरका महेश बस्नेतलगायत चारित्रिकरूपमा विवादित भएपछि ओलीले कडाइका रुपमा आफ्ना धारणा मात्र राखेका थिएनन् त्यसको नियन्त्रणका लागि केन्द्रीय कमिटी बैठकमा साझा धारणा बनाउने उद्धेश्यले छलफलसमेत चलाए । 

कतिपय नेताका काण्ड बाहिर छताछुल्ल भएका छन् भने केहीका विरुद्ध पार्टी नेतृत्वसमक्ष उजुरी पुगेका छन् । यी बग्रेल्ती घटनाहरूपछि एमाले अध्यक्ष ओलीले शुद्धीकरण अभियान चलाउनुपर्ने प्रस्ताव गरेका थिए । 

पछिल्ला केही वर्षयता पार्टीका नेता कार्यकर्ताको आचरणको विषय ओझेल पर्दा व्यक्तिका कारण पार्टीले प्रश्नको सामना गर्नु परिरहेको र पार्टी शुद्धीकरणको अभियान निर्ममतापूर्वक लैजानुपर्ने उनको भनाइ थियो । 

यस्ता आचरणगत र व्यवहारगत विचलन भएकालाई कारबाहीको प्रक्रियामा जानुपर्ने धारणा पनि उनले राखेका थिए । कोशी प्रदेशका घनश्याम खतिवडा, बाग्मतीका कैलाश ढुंगेल, मधेश प्रदेशका चन्देश्वर यादव, पेम्बा शेर्पा, लगायतका टोली नेताहरुले सहभागी केन्द्रीय सदस्यहरुबाट नेताहरुको आचारण सम्बन्धी सुझाव दिने क्रममा कतिपय नेताहरुको चारित्रिक विषयमा पनि टिप्पणी गरेको नेतृत्व समक्ष जानकारी दिएका छन् ।

पार्टी अध्यक्षको प्रस्तुतिपछि एमाले बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुद्धीकरणबारे अवधारणा प्रस्तुत गरेका थिए उनले विचारमा स्पष्टता, सुदृढ संगठन, कम्युनिष्ट आचरण र प्रभावकारी जनशैलीको आवश्यकता सहितको अवधारणा प्रस्तुत गरेका थिए । 

‘पार्टीमा समस्या कहाँ रहेका छन् ? सच्याउनुपर्ने–सुधार गर्नुपर्ने विषयहरू के के हुन् ? पार्टीको प्रभावकारिताका लागि के के गरिनुपर्छ ? देखापरिरहेका समस्यालाई चिन्हित गर्ने र समाधान गर्ने सम्बन्धमा सिंगो नेतृत्व पंक्ति यी विषयमा एक ठाउँमा उभिनुपर्ने र एउटै आवाजमा बोल्नुपर्ने आवश्यकता छ’ उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमै शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको प्रसंग पनि स्मरण गराएका छन् ।

तर बैठकमा केन्द्रीय सदस्यहरूले शुद्धीकरण माथिबाटै शुरु हुनुपर्ने सुझाव दिएर शीर्ष नेतामाथि नै प्रश्न तेर्स्याएका थिए । उनीहरूले पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना गर्नुपर्ने, शुद्धीकरण माथिबाट शुरु हुनुपर्ने मत राखेका थिए । 

पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्ने जस्ता पार्टी संगठन निर्माणमा महत्व राख्ने विषयमा सहभागीहरूले गम्भीरपूर्वक सुझाव राखेको बैठकमा सहभागी एक नेताले भने । 

संसद्को काम प्रभावकारी बनाउनुपर्ने, जनताका मुद्दाहरूमा विशेष ध्यान दिनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दा केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालको नारा कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्म संयन्त्र निर्माण गरी कार्य प्रारम्भ गर्नुपर्ने सुझाव दिएका छन् । 

खासगरी गुटबन्दी, भ्रष्टता र सांस्कृतिक विचलनका विरूद्ध पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने, पार्टीको प्रचार कार्यलाई चुस्त, प्रभावकारी र गुणस्तरीय बनाउने, पोखरेलले अध्ययन र प्रशिक्षणको कमीका कारण पार्टीले अवलम्बन गरेका सिद्धान्त, नीति र कार्यक्रम अध्ययन र सही बुझाइ र कार्यान्वयन गर्न नसकिएको अवधारणापत्रमा उल्लेख गरेका छन् । 

वैचारिक कामको अभावमा अवसरवाद र संगठनात्मक अराजकता तथा अनुशासनहीनता मौलाएको उनले भनेका छन् । यस्तै उनले पार्टी सदस्यतामा मापदण्ड पालनामा समस्या, ठूला आकारका कमिटी, तिनको सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन गर्ने समस्या, दक्षिणपन्थी अवसरवाद, संगठनात्मक अराजकता र गुटबन्दीको समस्या पनि औँल्याएका छन् । तर केन्द्रीय सदस्यहरुले नेताहरुबाटै गुटबन्दी शुरु भएको पनि चिन्ता व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ