arrow

कांग्रेस महासमिति बैठक

काम गर्न नसक्नेलाई विश्राम दिऊँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ - गगन थापा [भिडियो]

काम गर्न नसक्ने वडाध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
gagan-thapa-2080-11-08b.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका छन् । बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन् । 

उनले दाग लागेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताए । उनले काम गर्न नसक्ने मन्त्रीहरूलाई विश्राम दिनुपर्ने पनि बताए । महामन्त्री थापाले काम गर्न नसक्ने वडाध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताए । उनले यसो गर्न सकेमा कांग्रेसको शक्ति बढ्ने बताए । उनले ०४६ साल पछाडि सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए । आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई कारबाही गर्न सकिने उनको भनाई छ ।

उनले भने – ‘हामी अहिले सरकारमा छौँ । सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ । जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस् । आम नागरिकहरू आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन् । भ्रष्टाचारीहरू एउटा पनि नउम्कियोस् । ठुलो माछाहरू समातियोस् । यसको निम्ति कानुन बनोस् । बनेको कानून बदल्नुपर्छ भने बदलियोस् । कांग्रेसको पहलमा हामीले कानून बनाउने केही पहलकदमीहरू लिएका छौँ । ०४६ साल पछाडि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन होस् भन्ने कानून नेपाली कांग्रेसको पहलकदमीमा यहीँ संसद्बाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ । कतिपय ठाउँमा दाग लागेको छ । दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन । दाग हामी आफैँले मेटाउनुपर्छ । हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको कांग्रेसले नेताको नाममा सहकारी ठग्नेहरूलाई ठिक ठाउँमा लिएर आउँछ । जग्गा किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ । नागरिकता किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ । डेलिभरी गर्ने हाम्रो काम हो । जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरूले हिसाब किताब दिन सक्नुपर्छ । प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ कांग्रेसले । काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’

उनले कांग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ