arrow

विश्वकप लिग–२

नेपालको संघर्षपूर्ण ब्याटिङ, नेदरल्याण्ड्सलाई १७३ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
kushal-netherlands-.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत काठमाडौँमा जारी पहिलो त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै संघर्षपूर्ण खेल खेलेको छ । नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि पहिलो र नवौं विकेटको साझेदारी सम्झनयोग्य भए पनि बाँकी साझेदारीले गर्दा नेपाल कमजोर ठहरियो । 

कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बलको सामना गरेका थिए । भुर्तेलसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले १७ रन बनाए । त्यस्तै नवौँ विकेटको ३६ रनको साझेदारी हुने क्रममा करण केसीले २७ बलमा २६ तथा आरिफ शेखले ५० बलमा २२ रन बनाए । 

त्यसबाहेक कप्तान रोहित पौडेल १६, अनिल साह ७, गुल्सन झा ५, कुशल मल्ल २ तथा दिपेन्द्र सिंह ऐरी १ रन तथा भीम शार्की शून्यमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।

नेदरल्याण्ड्सका भिभियन किंग्मा र आर्यन दत्तले समान ३–३ विकेट लिए ।  

चार खेलमा ६ अंकसहित नामिबिया शीर्ष स्थानमा रहेर उपाधि जितेको छ । नेपाल र नेदरल्याण्ड्सको समान २–२ अंक छ । 

नेपाल यसअघि दुवै खेल नामिबियासँग गुमाएको थियो । 

नेपाल नामिबियासँग फेरि पनि निरीह
नेपाल नामिबियासँग फेरि पनि निरीह भएको छ । पहिलो खेलमा ४ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा २ विकेटको हार बेहोर्यो । 

घरेलु कीर्तिपुर मैदानमा १६९ रनको झिनो चुनौती लिएर उत्रिएको नामिबिया दबाबमा रहे पनि ८ विकेटको क्षतिमा ४० ओभरमा जित निकाल्दै महत्वपूर्ण २ अंक छिन्न सफल भयो । 

यसअघि पहिलो खेलमा नामिबिया विरुद्धको प्रदर्शन भन्दा केही सुधार गरेको भए पनि नेपालले दोस्रो खेलमा ठूलो स्कोर बनाउन सकेन । जसका कारण हारको सामना गर्नुपर्यो । 

नामिबियाका लागि कप्तान गहार्ड इरामसले ५२ रन बनाए । त्यस्तै जेजे स्मितले अविजित रहँदै ३४ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । 

प्रतिकूल मौसमबीच कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३७.१ ओभरमा अलआउट हुँदै १६८ रनमा समेटिएको थियो । 

४३ रन जोड्दा ३ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि आसिफ शेखले अर्धशतक बनाएका छन् । उनी ६४ बलमा १ छक्का र ८ चौकाको मद्धतले ५८ रन बनाएर आउट भए ।

आसिफको यो एक दिवसीयमा १२ औँ अर्धशतक हो । पहिले दबाबमा भए पनि आसिफलाई कुशल मल्लले साथ दिएसँगै नेपाल सुधारोन्मुख स्थितिमा रहेको थियो । 

चौथो विकेटका लागि ५७ रनकोसमेत साझेदारी गर्ने क्रममा कुशलले ५२ बलमा ३६ रन जोडे । भीम शार्कीले ३६ बलमा २६ रन बनाए । कुशल भुर्तेलले १८ रन बनाए । करण केसीले १२ बलमा १२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १८ बलमा ६ रनमात्र बनाए । सोमपाल कामीले ४ रन बनाए । 

खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले रनको खाता नै खोल्न सकेनन् । ललित राजबंशी आउट नभए पनि ६ बल खेलेर रनको खाता खोल्न सकेनन् । 

बर्नार्ड स्कोल्ज र जान निकोल लोफ्टी–इटनले समान ४–४ विकेट लिए ।  

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित हुँदै लिग–२ मा खराब शुरुआत गरेको थियो । 

नेदरल्याण्ड्सविरुद्ध कीर्तिमानी जित
दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई अहिलेसम्मकै फराकिलो अन्तरले हरायो ।  नेपालले विश्वकप लिग–२ मै अहिलेसम्मको फराकिलो जित हासिल गरेको हो । 

कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । १३८ रनको चुनौती नेपालले १५.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अनिल साहले अविजित रहँदै ३६ बलमा ५७ तथा आसिफ शेखले ४५ बलमा अविजित रहँदै ५४ रन बनाए । दोस्रो विकेटका लागि दुवैबीच १०५ रनको अविजित साझेदारी भएको थियो । यसअघि कुशल भुर्तेलले ११ बलमा ३ छक्का र २ चौकाको मद्धतले २८ रन बनाए । 

यो क्रममा नेपालले एक आफू भन्दा बलियो टिमविरुद्ध अहिलेसम्मकै फराकिलो जित हासिल गर्दैै कीर्तिमान रचेको हो । 

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमै रोक्यो । नेदरल्याण्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको हो । 

बस डे लिडेले सर्वाधिक ३३ रन बनाएको इनिङ्सलाई सस्तैमा सम्ट्ने क्रममा कुशल भुर्तेलले ७ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै ललित राजबंशीले २ विकेट लिए । 

त्यस्तै सोमपाल कामी, र रोहित पौडेलले १–१ विकेट लिए । दुई खेलाडी रन आउट भए । 

एसोसिएट राष्ट्रहरुमा सबैभन्दा बलियो टिममाथि हासिल गरेको शानदार जितले नेपालको अबको यात्रा सहज हुने अनुमान गरिएको छ । नेपालले नेदरल्याण्ड्ससँग अहिलेसम्म चार खेल खेलेकामा दुवैको २–२ जितको बराबरी भएको छ । 

यसअघि त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा भने नेपालले नामिबियासँग हार बेहोरेको थियो ।

नामिबिया विरुद्धको पहिलो खेल
आईसीसी लिग २ मा नेपालले खराब शुरुआत गर्यो । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमै पराजय भोगेको हो । 

कीर्तिपुर मैदानमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । कमजोर ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १३२ रन बनाउन सक्यो । 

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । 

जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका लागि जान फ्राइलिंकले ३४ रन बनाए । 
 
घरेलु मैदानमा विश्वकप लिग–२ को नयाँ सर्कल बिहीबारदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय श्रृंखलाअन्तर्गत पहिलो श्रृंखला नेपालमा भइरहेको हो । 

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता रहेको छ । 

पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको हो । अन्य टिममा क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ