arrow

एक्स्पोमा ठगी 

चेम्बर अध्यक्ष अग्रवालले ओलीसँग गरेको ७० लाखको गोप्य कागज बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
dang-expo-ghotala.jpg

दाङ । घोराहीको झिगौरामा दाङ चेम्बर अफ कमर्शले लगाएको दाङ एक्स्पो २०८० मा चेम्बरको कार्य समितिसँग एउटा लेनदेनको कागज बनाएर भित्र ठेकेदारसँग अर्को कागजात गरेको गोप्य कागज बाहिरिएको छ । 

चेम्बर अफ कमर्शले माघ २३ देखि फागुन ८ गतेसम्म १५ दिन लामो एक्स्पोको नाममा मेला लगाएको थियो । एक्स्पोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको थियो । 

५० वटा घरेलु उद्योगमा केही छुट दिए पनि न्यूनतम २६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँसम्म भाडा तिरेर ब्यापारीहरुले स्टलहरु एक्सपोमा स्टल राखेका थिए । 

मेला सकिएपछि धेरैले पैसा नपाएको गुनासो गरेका छन् । एक्स्पो ठेक्कामा दिएकाले ठेकेदार भागेपछि करिब २८ जना सेक्युरिटीले आफूले काम गरेको पैसा नपाएको बताए । 

चेम्बरको जिल्ला कार्य समितिसँग एक्स्पोका ठेकेदार सुर्खेत निवासी भरत ओलीले १८ लाख दिने कागज गरे पनि चेम्बरका जिल्ला अध्यक्ष विकास अग्रवालसँग ७० लाख दिने कागजी लेनदेन गरेको बाहिर आएको हो । 

एक्स्पोमा वाल उद्यान, जुवा जन्य विभिन्न खेलमा पनि चेम्बरका अध्यक्ष अग्रवालले नै आफ्ना निकटलाई ठेक्का दिएर कमिशसन लिएको आरोप लागेको छ । अग्रवालले आफू प्रथम पक्ष भई छुट्टै गोप्य ७० लाख रुपैयाँको सम्झौता गरेको कुरा बाहिर आएपछि सिंगो चेम्बरको जिल्ला कार्यसमितिमा हल्लीखल्ली मच्चिएको छ । 

आयोजक चेम्बर भए पनि यसको ठेक्का एमएमडीकेएल इभेन्ट एण्ड बहुउद्धेश्यीय प्रालीले लिएको थियो । अग्रवालले रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्वर ४ बस्ने वर्ष ४८ का मनु बुढा मगरसमेतको रोहवरमा ठेक्कामा दिएको रकम भन्दा बढीको लेनदेनको कागज गरेका छन् । 

भरत ओलीसहित दोस्रो पक्षले लेनदेनमा भएको रकम उपलब्ध गराउने र त्यो बापत चेम्बरले स्थानीय प्रहरी प्रशासन, राजश्व, कर, खाजा सबै बेहोर्ने लिखित कागज गरेको खुलेको छ । 

यता चेम्बरका जिल्ला अध्यक्ष अग्रवालले नक्कली कागज देखाएर आफूलाई बदनाम गर्ने काम भइरहेको बताएका छन् । उनले लेनेदेनको कागज सबै कार्य समितिको बैठकवाट पास गरिएको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ