arrow

विद्यार्थीलाई किताबमा भएको ज्ञान लेखाएर र घोकाएरमात्र उपलब्धी हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
pu-training-pokhara.jpg

पोखरा । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायले आयोजना गरेको ५ दिने फेकल्टी डेभलपमेन्ट तालिम सुरू भएको छ । विद्यार्थीको सिकाईलाई सहज बनाउन र स्वास्थ्य व्यवसायिक शिक्षाका आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।

तालिम शुभारम्भ गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले शिक्षण पेसालाई प्रभावकारी बनाउन प्राध्यापकमा सकारात्मक मनोवृत्तिसहित व्यावहारिक ज्ञान र सीपहरू प्रदान गर्नसक्ने क्षमता हुनुपर्नेमा जोड दिए ।

उनले विद्यार्थीलाई किताबमा भएको ज्ञान लेखाएर र घोकाएरमात्र उपलब्धी नहुने बताए । विद्यार्थीको मनोभाव बुझी प्रेरणा दिने र आनन्दित तुल्याउने कार्यले पनि उत्तिकै महत्वपूर्ण हुने उपकुलपति आर्यालले स्पष्ट पारे । पठनपाठन र मनोवृत्तिमा परिवर्तन ल्याउन तालिम सान्दर्भिक र महत्वपूर्ण हुने उनको विश्वास छ ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारीले प्राध्यापक कक्षाकोठामा मात्र होइन समाजकै लागि प्रेरणाको स्रोत हुनुपर्नेमा जोड दिए ।

प्राध्यापकले शिक्षण पेसाको गरिमा र महत्वलाई उचो राख्न पेशाप्रति बफादार र उच्च नैतिक आचरणमा रहनुपर्ने खाचोँ औंल्याउँदै उनले अनुशाशित, समयनिष्ठ र कर्तव्यनिष्ठसहित उत्कृष्टभावले मात्र प्राध्यापकको इज्जत र सम्मान अझ बढेर जाने स्पष्ट पारे ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डीन प्राध्यापक राजेशकुमार ठगुराठीले कमजोर विद्यार्थीलाई कसरी राम्रो र सक्षम तुल्याउन सकिन्छ भन्ने विषयमा तालिम अभिप्रेरित हुनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन सह-प्राडा अमर नागिलाले शिक्षण पेसामा जति इज्जत, मान र सम्मान छ त्यतिकै दुःख, कष्ट र चुनौतिहरू रहेको उल्लेख गरे । उनले प्राध्यापकको जागीर खाने र घर चलाउने कर्तव्यमात्र नभई कक्षा कोठामा हरेक दिन परीक्षा दिनुपर्ने र त्यसमा खरो उत्रनु बाहेक अन्य विकल्प समेत नरहेको जिकिर गरे ।

अग्रजहरूको ज्ञान र आचरण अनुकरण गरी समय सापेक्ष, कर्तव्यनिष्ठ र उर्जाशील भई पेसामा लाग्न तथा प्राध्यापकलाई राम्रो संगति र सम्बन्ध विस्तारमा लाग्न आग्रहसमेत गरे ।

परीक्षा नियन्त्रक सह-प्रा.डा. तुल्सीराम भण्डारीले तालिमलाई उपलब्धिमूलक र व्यवहारमा उतार्न सकेमात्र त्यसले सारतत्व सिकाइमा परिवर्तन र गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्ने उल्लेख गरे । उनले विद्यार्थीलाई राम्रो र उत्प्रेरित गर्न पाठ्यक्रमलाई चुस्त राख्नुपर्नेमा जोड दिए ।

नोबेल कलेजका प्राचार्य नवराज पाण्डेले स्वास्थ्य पेसा मानव अस्तित्व कायम रहेसम्म रही रहने भएकोले यसको समय सापेक्ष विकास र विस्तारका लागि सबै सचेत भई लाग्नुपर्नेमा जोड दिए ।

पोखरा नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख प्रा. नीता ताम्राकारले प्राध्यापकले आफ्नो पेसा र विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखी सयमानुसार परिवर्तन हुनुपर्नेमा जोड दिइन् । उनले प्राध्यापकले वस्तुनिष्ठ भई सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नु अति आवश्यक रहेको बताइन् ।

मणिपाल कलेज अफ मेडिकल साइन्सेजका प्राचार्य तथा माइक्रोबायोलोजी विभागका प्राध्यापक शिशिर गोखलेले शिक्षण पेसालाई राम्रो बनाउन प्राध्यापकले पठनपाठन, मनन, चिन्तन र आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले प्राध्यापकले सिकेको सीपलाई आचरणमा र आचरणलाई जीवनमा उतार्न सकेमात्र विद्यार्थीलाई सबैको लायक बनाउन सकिने बताए ।

कार्यक्रमका स्रोत व्यक्ति प्राडा मुनिराज क्षेत्रीले समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाई अवसर प्रवर्द्धन गर्न सकेमात्र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुने बताए ।

कार्यक्रममा स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक सुरेश जैसवालले प्राध्यापकको स्तरोन्नति, ज्ञान र सीप विकासका लागि तालिम आयोजना गरिएको बताए ।

कार्यक्रममा क्वालिटी सर्कल कमिटीमा आबद्ध पोखरा विश्वविद्याय बेचलर अफ फार्मेसीमा अध्ययन गर्ने विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

फागुन २४ सम्म सञ्चालन हुने तालिममा विभिन्न विधामा प्राडा मुनिराज क्षेत्री, प्राडा विदुर वस्ती, प्राडा शरदराज वन्त, प्राडा मन्दिरा शाही, युएनडिपी नेपालका आवासीय सहायक प्रतिनिधि बिन्दा मगर, डा. समिर तिमिल्सिना, डा. तुल्सीराम भण्डारी, प्राडा राजेन्द्र विसी, डा. नमराज धामीले प्रस्तुति दिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ