arrow

महाशिवरात्री

महाशिवरात्री मनाइँदै, पशुपतिनाथसहितका शिवालयमा भक्तजनको भीड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
pashupati-shivaratri-2078-356362.jpg

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्री आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । 

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ । 

शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण त्रयोदशीका दिन मनाइने प्रचलन छ ।

आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेकोछ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । 

आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । 

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ ।
 
महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका छन् । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ ।

दशनार्थीलाई व्यवस्थित दर्शन गराउन चार हजार सुरक्षाकर्मी र स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ