arrow

पूँजीगत खर्च वृद्धिका लागि सरकारले समयबद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
rajendra-malla-chamber-chairperson.jpg

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पूँजीगत खर्चमा सुधार गर्नका लागि समयबद्ध तालिका बनाउनुपर्ने बताएका छन्। बजेट चालु खर्चमै सकिने तर पूँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताए।

नेपाल तयारी पोसाक सङ्घको वार्षिक साधारण सभामा अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ८ महिनामा पूँजीगत खर्च २५ प्रतिशत सीमित छ। सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधि अपेक्षित रूपमा बढ्न सकेको छैन। त्यसैले पूँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्ने गरी समय तालिका निर्धारण गर्न आवश्यक छ।’

सरकारले पूँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भीर असर परेको अध्यक्ष मल्लको भनाई छ। सरकारले आगामी आर्थिक वर्षमा खर्च क्षमता अनुसारको विकास आयोजना छनोट गर्नुपर्ने उनको भनाई छ।

अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धि मार्फत निर्यात प्रवर्द्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए।

आयातलाई व्यवस्थित गरी निर्यातलाई प्रवर्द्धन गर्नका लागि स्थानीय उत्पादन वृद्धि हुने क्षेत्रमा बजेटलाई विनियोजन गर्नुपर्ने अध्यक्ष मल्लले बताए।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने बताए।

अर्को प्रसङ्गमा अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र अझै पनि सुस्त गतिमै रहेको बताए। बजारमा कर्जाको ब्याजदर अपेक्षित रूपमा घट्न नसक्दा लगानी आकर्षित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ