arrow

नयाँ गठबन्धनले माओवादी, नेकपा एस र जसपाभित्र चर्को विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
prachanda-madhav-upendra.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) गरी तीन वटै पार्टीमा विवाद देखिएको छ । 

दुवै पार्टीका सांसदहरुले पार्टीमा पर्याप्त छलफल नगरी नयाँ गठबन्धन बनाएको र गठबन्धन बनाउँदा शीर्ष नेताहरुको स्वार्थलाई मात्र केन्द्रमा राखेको भन्दै विवाद देखिएको हो ।

माओवादीका नेताहरुले राष्ट्रिय सभा अध्यक्षको चयन र मन्त्रीहरुको चयन गर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् भने एसभित्र आफूखुशी मन्त्री पठाएको भन्दै माधवकुमार नेपाल, घनश्याम भुसाल र प्रमेश हमालको विरोध गरेका छन् । 

यसले गर्दा यी पार्टीमा अहिले गठबन्धन बनाउन र मन्त्री बनाउँदाको विषयले विवाद मात्रै उत्पन्न गराएको छैन पार्टीको भविष्यमाथि नै नेता कार्यकर्ताले प्रश्न उठाएका छन् ।

माओवादी केन्द्रका सांसदहरु जनार्दन शर्मा, माधव सापकोटा लगायतले बैठकमै अध्यक्ष प्रचण्डको विरोध गरेका थिए भने नारायणकाजी श्रेष्ठलाई जनयुद्ध नलडेको तर सधैँ माओवादीको नाममा अवसर पाइरहेको नेताको रुपमा चित्रित गरिदिएका थिए । 

उनीहरुले श्रेष्ठ र उर्जामन्त्री शक्ति बस्नेतको विरोध गर्दै मन्त्री बनाउने मापदण्ड पनि खोजेका थिए । यसपटक माधव सापकोटा लगायतका युवा नेताहरुले मन्त्रीको अपेक्षा गरेका थिए । 

त्यस्तै अध्यक्ष प्रचण्डले भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्षमा सिफारिस गर्दा पनि पार्टीभित्र र बाहिर चर्को विरोध भएको थियो ।

उता नेकपा एसमा सांसदहरूले सचिवालय बैठकको निर्णय बिनै आफूखुशी मन्त्री बनाएको भन्दै अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालको चर्को आलोचना गरे । 

सोमबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि पुनः पार्टी बैठक बसेर सरकारमा सहभागी हुने–नहुने भन्ने निर्णय गर्ने भनिए पनि अध्यक्ष नेपाल, उपाध्यक्ष हमाल र महासचिव भुसालले त्यसो नगरी पार्टीका तर्फबाट आफूखुशी मन्त्री हुनेको नाम प्रधानमन्त्रीलाई दिएकोमा सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए । 

एमालेसँग संवाद गरिरहेका माधव नेपाललाई आफ्नै सांसदबाट विरोध भएपछि उनले बाध्य भएर प्रचण्डसँग कुराकानी गर्नु परेको थियो ।

गत फागुन २३ गते बसेको सचिवालय बैठकले एमाले नेतृत्वको सरकारमा सहभागी हुने–नहुने भन्नेबारे तीन नेतालाई प्रधानमन्त्रीसँग छलफल गरेर पुनः निर्णय गर्ने गरी वार्ता गर्न खटाएको थियो । 

सचिवालय बैठकलगत्तै नेपालसहितका नेताहरू केही सर्तसहित प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार गएका थिए । 

सोही दिन नयाँ मन्त्रीहरूको शपथ राखिएको थियो । तर वार्ता गर्न गएको टोलीले त्यसैबेला प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट मन्त्री हुनेहरू भानुभक्त जोशी र धनबहादुर बुढाको नाम दिएका थिए । 

सोही अनुसार जोशी सामान्य प्रशासन र बुढा शहरी विकास मन्त्रीका रूपमा शपथ लिएका थिए । यसपटक राजेन्द्र पाण्डे, प्रेम आले, किसान श्रेष्ठ लगायतका नेताहरु मन्त्री हुने लाइनमा थिए । 

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले त प्रचण्ड सरकार एक महिना पनि नटिक्ने बताएका थिए । तर बुधबार प्रचण्डले विश्वासको मत लिनुअघि मंगलबार प्रचण्ड र केपी ओलीले फकाएसँगै माधव नेपाल मत दिन तयार भएका थिए ।

उता जसपामा पनि अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको सपथ लिइरहँदा असन्तुष्टि बढिरहेको छ । अध्यक्ष आफैँ सरकारमा हुने कुराले पार्टीभित्रका अन्य सांसदहरुलाई अन्याय भएको भन्दै असन्तुष्टि बढेको हो । 

जसपाले शुरुमा सरकारमा जाने वा नजाने भन्ने बारेमा कार्यसम्पादन समितिको बैठकबाट कुनै निर्णय नै गर्न नसकेको अवस्थामा पछिल्लो दुईमा मात्रै निर्णय गरेर सरकारमा सहभागी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ