arrow

लुम्बिनीमा माओवादीका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने सहमति

logo
नारायण वली,
प्रकाशित २०८० चैत २३ शुक्रबार
mukhyamantri karyalaya dang lumbini1.jpg

लुम्बिनी । केन्द्रीय राजनीतिमा सत्ता समीकरणको फेरबदल सँगै त्यसको असर प्रदेशमा समेत पर्दै आएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणमा गठबन्धनका दल परिवर्तन गर्दै पुनः नयाँ सरकार सञ्चालन गरेकाले प्रदेशमा पनि सरकार ढाल्ने र बनाउने प्रवृत्ति चल्दै आएको छ । 

जसअनुसार लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि बिहीबार चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको छ। सत्ता साझेदार दलहरूले नयाँ सरकार गठनका लागि साझा ढङ्गले अघि बढ्न सहमति भएको बताइएको छ ।

सहमति पत्रमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका हुन् ।

मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्तिमा गठबन्धन गरेका दलका नेताहरूको सामेल हुने समझदारी भएको माओवादीका एक नेताले बताएका छन् । 

दलहरूको सहमतिअनुसार धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहमति भएको चार दल र एक स्वतन्त्र सांसदद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त सहमति सँगै नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धनमा जोडिएको भएको जनाइएको छ ।

८७ जना प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ। लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । 

गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ नागरिक उन्मुक्तिसँग ४, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ