arrow

पुटिनविरुद्ध अवज्ञाको नोट जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
putin-kazakhstan-2022.jpeg

काठमाडौँ । लिथुआनियाको गुप्तचर सेवाहरूले दिवङ्गत विपक्षी नेता एलेक्सी नभाल्नीका निकट सहयोगी तथा रुसी विपक्षी नेता लियोनिद भोल्कोभमाथि हमला सम्भवतः ‘रुसले आयोजना गरेको’ बुधबार बताएका छन् । 

बाल्टिक राज्य लिथुआनियाका राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अवज्ञाको नोट जारी गर्नुअघि मस्कोको सम्भावित संलग्नातामा कुनै आश्चर्य नहुनुपर्ने उल्लेख गर्दै भने, “यहाँ कोही पनि तपाईंसँग डराउँदैन ।”

मङ्गलबार राति ४३ वर्षीय भोल्कोभलाई लिथुआनियाको राजधानी भिल्नियसमा उनको घरबाहिर हथौडाले बारम्बार प्रहार गरिएपछि केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

 यो हमला आर्कटिक कारागारमा नभाल्नीको मृत्युको करिब एक महिनापछि भएको हो । नभाल्नीको मृत्युका लागि भोल्कोभले निर्वाचनको केही दिनअघि सत्तामा कायमै रहन तयार देखिएका पुटिनलाई दोष दिएका थिए । 

धेरै रुसी तथा बेलारुसी विपक्षी कार्यकर्ताहरूलाई आतिथ्यता प्रदान गर्ने लिथुआनियामा हमलाभन्दा अघि वा पछि भोल्कोभका लागि कस्तो सुरक्षा व्यवस्था गरिएको थियो भन्नेबारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । 

रुसले दुई वर्षभन्दा धेरैअघि आफ्नो छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि नाटो र युरोपेली सङ्घको सदस्य लिथुआनिया युक्रेनको कट्टर समर्थक बनेको छ । 

“यो हमला सम्भवतः रुसद्वारा आयोजित र कार्यान्वयन गरिएको अपरेसन थियो, यसको उद्देश्य रुसी विपक्षी परियोजनाहरूको कार्यान्वयनलाई रोक्नु थियो”, राज्य सुरक्षा विभागले एक विज्ञप्तिमा भनेको छ । 

कुनै संदिग्धको पहिचान हुन सकेको छैन तर लिथुआनियाली राष्ट्रपति गितानास नौसेदाले मुलुकका सेवाहरूले हमलाको अनुसन्धान गरिरहेको भन्दै उनीहरूले अपराधी पत्ता लगाउने आशा व्यक्त गरे । 

पेरिसबाट लिथुआनियाली पत्रकारहरूसँग कुरा गर्दै उनले सोभियत स्मारकहरू र लिथुआनियाली झण्डाको अपमान गर्ने घटनाहरू हालै बढेको बताए ।

“यी सबै मुद्दाले घटनाहरूको एउटा सम्पूर्ण शृङ्खलालाई जोड्छ जहाँ यस्ता कुराहरूको योजना बनाइएको स्पष्ट छ, हामीले अचम्म मान्नु हुँदैन”, उनले भने, “जहाँसम्म पुटिनको कुरा छ, म एउटै कुरा भन्छु : यहाँ तपाईंसँग कोही डराउँदैन ।”

‘यहाँ’ भन्ने शब्दबारे स्पष्ट पार्न सोधिएको प्रश्नमा राष्ट्रपति कार्यालयले नौसेदाले लिथुआनिया र युरोप दुवैलाई भनेको बताएको छ । 

प्रहरी उपप्रमुख साउलियस तामुलेभिसियसले यसअघि अनुसन्धानकर्ताहरूले विस्तृतरूपमा नभई विभिन्न सिद्धान्तमा विचार गरिरहेको बताएका थिए । 

“हामीले अपराधीको उद्देश्य र कारण स्पष्ट गर्नका लागि सबै उपाय अपनाइरहेका छौँ, धेरै संस्करणको अनुसन्धान भइरहेको छ”, उनले भने । 

भोल्कोभले टेलिग्राममा मङ्गलबार राति हमलाका क्रममा आफ्नो खुट्टामा १५ पटक प्रहार भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ