arrow

माध्यमिकी परिक्रमाका यात्रीलाई मुसलमान सुमदायले गरे बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
madhyamiki-mithila.jpg

महोत्तरी ।  मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन् । साताँै दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन् । 

हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा सुखद् होस् भन्ने कामना गर्दै यात्रीको बिदाइ गरेका हुन् । 

विश्रामस्थल ध्रुवकुण्ड वरिपरि मुस्लिम बसोबास बाहुल्य छ । आफ्नो ठाउँमा बसेका यात्री आज बिहान अघिल्लो यात्रामा निस्कनअघि मुस्लिम अगुवाले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको स्थानीय परम्परा अनुशरण गर्दै यात्रीको बिदाइ गरेका हुन् ।

“हामी वर्षौँवर्षदेखि मिलेर बसेका छौँ, आफ्ना ठाउँमा आएका अतिथिको स्वागत र बिदाइ मिथिलाको स्थापित परम्परा हो”, ध्रुवकुण्ड नजिकैको अधियानपुर बस्तीका शेष अमानुल्ला भन्छन् । यसले फरक धर्म परम्परा र संस्कृतिबीच आपसी प्रेम र सद्भावको सकारात्मक सन्देश प्रवाह गर्ने शिक्षण पेसाबाट अवकाश लिएका अमानुल्लाको भनाइ छ । 
 
जिल्लामा मुस्लिम समुदाय (इस्लाम धर्मावलम्बी) को सघन बसोबास रहेको धमौरामा मिथिला मध्यमा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड छ ।  सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । मध्यमा परिक्रमाका यात्रीको स्वागत र बिदाइको अवसर आपूmहरूले पाउनु गौरवको कुरा भएको मुस्लिम धर्मावलम्बी बताउँछन् ।

यात्री आइपुग्दा स्थानीय संस्कृतिअनुसार गम्छा ओढाएर र बिदाइ गरिँदा सुपारीका टुक्रा हातमा दिने चलन छ । प्रतीकात्मकरूपमा केही यात्रीको स्वागत र बिदाइ हुने गरे पनि बासस्थलमा बस्ने ठाउँको प्रबन्ध, आकस्मिक उपचार सेवा र अन्य भइपरि आउने काममा मुस्लिम सबैका लागि उपलब्ध रहँदै आएका देखिन्छन् । मिथिलामा सुपारीको टुक्रा बिदाइका बेला दिने गरिएको परम्परा अघिल्लो निम्ता पनि मानिन्छ । यसको भाव आइरहनोस् है भन्ने हुने धमौराका बासिन्दा अवकाशप्राप्त शिक्षक सुशील यादव बताउँछन्।

धमौैराका धमौराबजार, रौजाबजार र अधियानपुरको माझमा ध्रुवकुण्ड छ । यी वरपरका बस्ती मुस्लिम बाहुल्य भए पनि आफूहरूको वास्तामा कुनै कमी महसुस नहुने गरेको यात्री बताउँछन् । यहाँ आइपुग्दा र निस्कँदा स्थानीय मुस्लिमले गर्ने स्वागत र बिदाइ परम्परा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भावको खास नमूना भएको अग्निकुण्ड मठका महन्थ नवलकिशोर दास शरण बताउँछन् ।

धमौरा हिन्दू र मुस्लिम परम्पराको आस्थाको स्थल हो । यहाँ हिन्दू परम्पराको ध्रुवकुण्ड र इस्लाम परम्पराको रौजामजार छन् । रौजामजार  इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार (समाधिस्थल) रहेको ठाउँ हो । हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै मन्नत (आशिष)  माग्न पुग्छन् । रौजामजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले आपूmहरूको समान चासोमा पर्ने यस ठाउँका हिन्दूमुस्लिम बताउँछन् ।

माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू र  इस्लाम धर्मावलम्बी सँगसँगै लागिपर्ने गरिएको धमौराबजारका बासिन्दा ८० वर्षीय हासिम कवारी बताउँछन् ।

मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज मध्याह्न कञ्चनवनमा यात्रीले एकापसमा रङअबिर खेलेपछि फागु पर्वमा रङअबिरको प्रयोग खुल्ने मैथिल मान्यता  छ । कञ्चनवनपछि परिक्रमा धनुषा प्रवेश गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ