arrow

पुटिनलाई नचाहनेको मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
putin-kazakhstan-2022.jpeg

काठमाडौँ । राष्ट्रपति भ्लादिमिर पुटिनको शासन विस्तार गर्न निर्धारण गरिएको निर्वाचनको अन्तिम दिन आइतबार पेरिसस्थित मस्को दूतावासबाहिर मत खसाल्न रुसी नागरिकहरूको लामो लाइन लागेको थियो । 

पुटिनका विरोधीहरूले दिवङ्गत विपक्षी नेता एलेक्सी नभाल्नीको सम्झनामा विरोध प्रदर्शन आह्वान गरेको पेरिस दूतावास बाहिर वर्षामा पनि हजारौँ मतदाता भेला भएका थिए । यस्तै प्रकारको दृश्य बर्लिन र अन्य युरोपेली मुलुकका राजधानीहरूमा पनि देखिएका छन् । 

नभाल्नीकी विधवा युलिया नभाल्नायाले समर्थकहरूबाट फूल लिइन् र बर्लिनमा रुसी दूतावासबाहिर लामो लाइनमा मतदाताहरूसँग कुराकानी गरिन् । 

नभाल्नीका समर्थकहरूले मानिसहरूसँग ‘पुटिनविरुद्ध मध्याह्न’ विरोध प्रदर्शनमा मतदान केन्द्रहरूमा जान र आफ्नो मतपत्र बिगार्न आह्वान गरेका थिए । 

पुटिनका प्रमुख प्रतिद्वन्द्वी नभाल्नीको गत महिना आर्कटिक कारागारमा रहस्यमत अवस्थामा मृत्यु भएको थियो । 

“म मेरो मतपत्रलाई पर्चाका रूपमा प्रयोग गर्नेछु”, पेरिस दूतावासबाहिर आफ्नो पालोको प्रतीक्षा गर्दै ४३ वर्षीया तात्याना लियोन्टिभाले भने, “म यसमा नभाल्नी लेख्नेछु, पुटिन अवैध छन्, म लोकतान्त्रिक मूल्यहरूलाई समर्थन गर्छु ।”

एक फ्रान्सेली बैंकमा काम गर्ने व्याचेस्लाभ डोरोफेयेभले भने, “कसैगरी भए पनि परिस्थितिलाई बदल्ने इच्छा छ ।”

प्रेस रिपोर्टहरूका अनुसार माल्दोभामा रुसी दूतावासमा दुई मोलोटोभ ककटेल फ्याँकेपछि प्रहरीले ५४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । “उनले आफ्नो कार्यलाई रुसी अधिकारीहरूको कामहरूबाट केही असन्तोषका आधारमा उचित ठहर भएको बताएका छन् ।”

हजारौँ रुसी युवा मुलुक छाडेर बसेको इस्तानबुलमा रुसको वाणिज्य दूतावासबाहिर मध्याह्नसम्म चार सय मिटरसम्म लाइन पुगेको थियो । अधिकांश मध्याह्नको विरोध प्रदर्शनका लागि आएका थिए । 

“हामी पुटिनको कामलाई अझ धेरै कठिन बनाउन चाहन्छौँ”, आफ्नो थर बताउन नचाहने साथी एलेनासँगै युरीले भनिन् । दुवैले सन् २०२२ डिसेम्बरमा रुसबाट भागेको बताए । 

“नभाल्नीको मृत्यु हुँदा म स्तब्ध भएँ, रोएँ, त्यसैले आइतबार मध्याह्नमा आएको छु”, युक्रेनी नागरिकसँग विवाह गरेका ३१ वर्षीय रुसी वादिमले भने । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ