arrow

राजकुमारी केटलाई क्यान्सर, अप्रिलसम्म बाहिर नदेखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
kate-middleton-british-princess.jpg

काठमाडौँ । वेल्सकी राजकुमारी केटलाई क्यान्सर भएको छ । 

आफ्नो स्वास्थ्यबारे समाजिक सञ्जालमा गरिएको उन्मादपूर्ण अनुमानहरूको हप्ता दिनपछि राजकुमारी केटले शुक्रबार एक भिडियोमार्फत पेटको ठूलो शल्यक्रियापछि हाल किमोथेरापी गराइरहेको बताएकी थिइन् । 

बयालीस वर्षीया राजकुमारीले क्यान्सर आफ्ना लागि एक ठूलो झट्का रहेको र सोको रोकथामका लागि किमोथेरापीको प्रारम्भिक चरणमा रहेको बताएकी थिइन् । 

प्रिन्स विलियम राजकुमारीलाई क्यान्सर भएको घोषणा पश्चात जनताबाट पाएको न्यानोपन र समर्थनबाट अत्यन्तै उत्प्रेरित भएको बताइएको छ । 

“राजकुमार र राजकुमारी संयुक्त अधिराज्य र विश्वभरका जनताबाट आएका सन्देशले उत्प्रेरित हुनुभएको छ, उहाँहरू जनताको न्यानोपन र समर्थन तथा यस समयमा गोपनीयताका लागि गरिएको अनुरोधलाई बुझिदिएकामा कृतज्ञ हुनुहुन्छ”, केन्सिङ्टन दरबारका प्रवक्ताले भने । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, क्यान्सरको उपचार गराइरेका राजा चार्ल्स तृतीयलगायत विश्वभरबाट राजकुमारी केटका लागि समर्थनका सन्देश आइरहेका छन् । 

केट वा अरु कसैले पनि उनलाई कस्तो प्रकारको क्यान्सर भएको हो वा कुन चरणमा उपचार भइरहेको छ भन्ने खुलासा गरेकी छैनन् । राजकुमारीप्रति सहानुभूति प्रकट गर्दै मानिसहरू केन्सिङ्टन दरबारका साथै विन्डसर क्यासलमा भेला भएका छन् । 

अधिकारीहरूले शुक्रबारसम्म जनवरीमा केटको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारका लागि उनी अप्रिलसम्म सार्वजनिक कर्तव्यबाट टाढा बस्ने बताएका थिए । 

यसले भावी रानी ‘हराइरहेको’ अफवाह फैलायो र केटले यो महिनाको सुरुमा संयुक्त अधिराज्यमा मदर्स डे मनाउन जारी गरिएको आधिकारिक तस्बिर परिवर्तन गरेको स्वीकार गरेपछि अवस्था थप जटिल बनेको थियो । 

द सन र टिएमजेडले गत हप्ता केट र विलियम उनीहरूको घर नजिकै किनमेल गरिरहेको भिडियो प्रकाशन गरे पनि नकारात्मक कभरेजलाई हटाउन सकेन । 

“राजकुमारी केटले भिडियोमार्फत जानकारी गराउनुअघि उहाँको स्वास्थ्य अवस्था र ठेगानाबारे अनुमान र दबाब मैले अहिलेसम्म देखेको सबैभन्दा खराब थियो”, केट र प्रिन्स अफ वेल्सका पूर्व आधिकारिक प्रवक्ता प्याडी हार्भरसनले भने । 

यद्यपि जस्तोसुकै अनुमान गरिए पनि केटले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी दिनेछिन् भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ