arrow

प्रहरीको बढुवामा गृहमन्त्रीको हस्तक्षेप, प्रचण्ड र ओलीको चाकडी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
prachanda-oli-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरुवा बढुवामा कुनै पनि हस्तक्षेप हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएका गृहमन्त्री रवि लामिछानेले डीएसपीबाट एसपी बढुवामै हस्तक्षेप गरेको पाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पीएसओलाई बढुवा गर्न प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई दबाब दिएर बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ । 

प्रहरीमा ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएकोमा पहिलो नम्बरमा रहेका डीएसपी प्रदीप अधिकारीलाई नै छुटाइएको छ । 

आईजीपी बसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा एक नम्बर वरीयतामा रहेका डीएसपी क्षेत्रीको नाम छैन । 

६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सूचीमा परेनन् । डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट,  राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिँदा बजेट महाशखामा रहेका ढकेन्द्र खतिवडालाई पहिलो नम्बरमा ल्याइएको छ । जबकि उनी तेस्रो नम्बरमा थिए ।

उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ । 

आठ डीएसपीको एसपी बढुवामा सरकारी भागबण्डा मिलाउँदा रोलक्रममा रहेका क्षेत्री छुटेका हुन् । आर्थिक प्रशासन तथा बजेटमा बसेका खतिवडालाई तेस्रो नम्बरबाट पहिलो नम्बरमा ल्याउँदा अंगुर जीसीलाई दोस्रो नम्बरमै राखिएको छ । 

एसपी बढुवामा प्रधानमन्त्री प्रचण्डका पीएसओले विनोद घिमिरे र केपी ओलीका पीएसओ सन्तोष तामाङलाई अटाइएको छ । लिम्बू र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेको अफिसर हुन् । 

घिमिरे प्रचण्डका पीएसओ बसिसकेका अधिकृत हुन् । लिम्बू आठौँ नम्बरमा थिए उनी मेरिटभित्रै बढुवा भएका छन् । यसैगरी नियमित बढुवामा नारायण रन्जितकारलाई छुटाइएको छ । उनी पनि बढुवाको सूचीमा रहेका थिए । एकनारायण कोइराला र अनन्तराम शर्मा भन्दा अघि विनोद घिमिरेलाई बढुवा गरिएको छ । 

गत साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश पाएपछि दुई पद रिक्त भएको थियो । त्यस्तै गत कात्तिक २४ गते पाँच जना एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त भएको छ । 

त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भएसँगै जम्मा रिक्त पद संख्या ८ पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ