- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले शानदार शुरुआत गरेको छ । नेपालले गुजरातमाथि शानदार ८ विकेटको जित निकालेको हो ।
९९ रनको झिनो चुनौती नेपालले १५.२ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित शर्माले अविजित रहँदै ३३ रन बनाए । अनिल साहले अविजित रहँदै ३२ रन बनाए । तेस्रो विकेटका लागि अविजित ६५ रनको साझेदारी भएको थियो ।
कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए ।
यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले गुजरातलाई ९८ रनमै रोक्यो । गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा रोकियो । रुद्र पटेलले सर्वाधिक २३ रन बनाए ।
मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भइरहेको खेलमा नेपालका लागि गुल्सन झाले ४, किरण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए ।
नेपाली राष्ट्रिय टिम, गुजरात र बरोडाबीच त्रिकोणात्मक श्रृंखला भइरहेको हो । दोहोरो राउन्ड रबिनको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग, चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै श्रृंखलाको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ गते हुनेछ ।
नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप यो श्रृंखला खेलिरहेको हो ।
नेपालले आगामी जुनमा अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने विश्वकप टी–२० तयारीका लागि भारतीय स्थानीय टिमहरुसँग यो च्याम्पियनशिप खेलिरहेको हो ।
नेपालले पहिलो पटक भारतसँग एसिया कप खेलेसँगै नेपाली टिमको उत्साह देखेसँगै भारतले नेपाली क्रिकेटलाई सघाउने वचन दिएको थियो । सो अनुसार पहिलो पटक नेपालले भारतमा अभ्यास गर्न पाएको हो ।