- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल भारतको गुजरातस्थित भापीमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा लगातार तेस्रो जितसहित फाइनलमा पुगेको छ ।
नेपालले बुधबार गुजरात क्रिकेट एसोसिएसनमाथि ८ रनको रोमाञ्चक जित हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो ।
यसअघिका खेलमा एकतर्फी खेलेको नेपालले बुधबारको खेलमा भने जितका लागि संघर्ष गरेको हो ।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८१ रन बनायो । आसिफ शेखले ५१ बलमा ८५ तथा कुशल भुर्तेलले ४४ बलमा ६७ रन बनाए ।
जवाफमा गुजरातले ७ विकेटको क्षतिमा १७३ रन बनाउन सक्यो । कप्तान उमंग तान्डेलले २४ बलमा ४७ रन जोडे । त्यस्तै हरेश देसाईले १६ बलमा अविजित रहँदै २९ रन जोडे । नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले २–२ विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो ।
मंगलबार भएको दोस्रो खेलमा नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको थियो ।
तीन टिमले आपसमा दुई खेल खेलेपछि शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।
नेपालको दोस्रो खेलको विवरण
नेपालले बरोडालाई १५७ रनको चुनौती दिएकामा बरोडाले सबै विकेट गुमाएर २० ओभरमा १२९ रनमात्र बनाउन सक्यो । बाबा खानले १८ बलमा २९ रन बनाए ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र सोमपाल कामीले समान २ विकेट लिए । गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५६ रन बनायो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा अविजित रहँदै ४० रन बनाएका हुन् ।
सन्दीप जोराले १६ बलमा २९, अनिलकुमार साहले २७ बलमा २५, कप्तान रोहित पौडेलले १३ बलमा १६ रन बनाए । गुल्सन झाले १४ बलमा १३ तथा कुशल भुर्तेल र आसिफ शेखले समान ९–९ रन बनाए ।
बाबा खानले सर्वाधिक २ विकेट लिए ।
नेपालको पहिलो खेल
पहिलो खेलमा नेपालले शानदार शुरुआत गरेको थियो । नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो ।
९९ रनको झिनो चुनौती नेपालले १५.२ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित शर्माले अविजित रहँदै ३३ रन बनाए ।
अनिल साहले अविजित रहँदै ३२ रन बनाए । तेस्रो विकेटका लागि अविजित ६५ रनको साझेदारी भएको थियो ।
कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए ।
यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले गुजरातलाई ९८ रनमै रोक्यो । गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा रोकियो । रुद्र पटेलले सर्वाधिक २३ रन बनाए ।
मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भएको खेलमा नेपालका लागि गुल्सन झाले ४, किरण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए ।
नेपाली राष्ट्रिय टिम, गुजरात र बरोडाबीच त्रिकोणात्मक श्रृंखला भइरहेको हो । दोहोरो राउन्ड रबिनको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै श्रृंखलाको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ गते हुनेछ ।
नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप यो श्रृंखला खेलिरहेको हो ।
नेपालले आगामी जुनमा अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने विश्वकप टी–२० तयारीका लागि भारतीय स्थानीय टिमहरुसँग यो च्याम्पियनशिप खेलिरहेको हो ।
नेपालले पहिलो पटक भारतसँग एसिया कप खेलेसँगै नेपाली टिमको उत्साह देखेसँगै भारतले नेपाली क्रिकेटलाई सघाउने वचन दिएको थियो । सो अनुसार पहिलो पटक नेपालले भारतमा अभ्यास गर्न पाएको हो ।