arrow

महासंघ अध्यक्षलाई साक्षी राखेर अर्थमन्त्रीले भेटे भारतीय उद्योग परिसंघका प्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
barshaman-pun-chandra-dhaka.jpg

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भेटघाट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा भाग लिन आएका प्रतिनिधिमण्डलसँग अर्थमन्त्री पुनले बुधबार भेट गरेका हुन् । भेटमा महासंघका अध्यक्ष चन्द्र ढकालसमेत सहभागी थिए ।

भेटमा अर्थमन्त्री पुनले भारतीय अर्थतन्त्रबाट लाभ लिने प्रयासमा सरकार रहेको बताए । भारतीय अर्थतन्त्र राम्रो हुँदा नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो । 

‘भारतको आर्थिक वृद्धि अघिल्लो वर्षपनि राम्रो थियो । यो वर्ष पनि राम्रो हुने देखिएको छ’, मन्त्री पुनले भने, ‘भारतीय अर्थतन्त्र सुधार हुँदा एक हदसम्म नेपालमा पनि त्यसको राम्रो प्रभाव पर्छ ।’ 

उनले सन् २००८ को आर्थिक मन्दी र कोरोना महामारीको समयमा भारतीय अर्थतन्त्र नबिग्रिएका कारण नेपाली अर्थतन्त्र मन्दीको प्रभावबाट छिट्टै सुधारिएको उनको भनाइ थियो । पुनले नेपालमा थप लगानीमैत्री वातावरण बन्दै गएकाले लगानी ल्याउन पनि अपील गरे । 

‘विगतमा पनि भारतीय लगानीकर्ताको नेपालमा राम्रो योलना छ’, उनले भने,  ‘तेश्रो लगानी सम्मेलनको संघारमा म यसअघि लगानी गरिरहेकाहरुलाई लगानीको क्षेत्र विस्तार गर्न आग्रह गर्छु र नयाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्ने नीति रहेको जानकारी गराउन चाहन्छु ।’

आफूले यसअघि ऊर्जा मन्त्रालयकोसमेत नेतृत्व गरेको स्मरण गर्दै मन्त्री पुनले नेपालमा ऊर्जा र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

लगानी सम्मेलनका लागि भारतीय लगानीकर्ताको राम्रो उपस्थिति हुने विश्वास व्यक्त गरेका मन्त्री पुनले लगानीमैत्री वातावरण बनाउन एक दर्जन कानूनमा संशोधन गर्न लागिएको बताए । 

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट सञ्जीव पुरीले नेपालमा लगानी ल्याउन भारतीय लगानीकर्ता सकारात्मक रहेको उल्लेख गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ