arrow

हाइस्कोर खेलमा बैंगलुरूमाथि मुम्बई हावी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
ipl-2024-hardik-kohli.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । वाङ्खेडेमा भएको हाइस्कोर खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई पराजित गरेको छ ।

मुम्बईले बैंगलुरूलाई ७ विकेटले पराजित गरेको हो । बैंगलुरूले दिएको १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको थियो । इशान किसनले ६९, सूर्यकुमार यादवले ५२ तथा रोहित शर्माले ३८ रन बनाए । यसअघि फाफ दु प्लेसिसको ६१, दिनेश कार्तिकको २३ बलमा अविजित ५३ तथा रजत पडितारको ५० रनको मद्धतले बैंगलुरूले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । जसप्रित बुमराहले २१ रन खर्चेर ५ विकेट लिएका थिए । 

योसँगै ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरूको यो पाँचौँ हार हो । ६ खेलमा एक जित हासिल गरेको बैंगलुरू २ अंकसहित नवौँ स्थानमा छ । 

आजको खेल
आज लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजेदेखि शुरु हुने छ ।

लखनउले ४ खेलमा ३ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी दिल्लीले भने अहिलेसम्म खेलेका ५ खेलमा एक जित मात्र हासिल गरेको छ भने ४ खेलमा हार बेहोरिसकेको छ ।   

यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

 त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तीव्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने छैनन् । उनी इन्जुरीका कारण पछिल्लो खेलमा एक ओभर बलिङ गरेर मैदान छोडेका थिए । उनी केहि दिनपछि मात्र मैदानमा फर्किने बताइएको छ । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस सिजनमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।   

 त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आईपीएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् । आईपीएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौँ स्थानमा रहेको थियो ।
 



नयाँ