arrow

यस्तो हुनेछ मेष राशि हुनेहरूको वर्ष २०८१ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-mesh.jpg

काठमाडौँ । समग्रमा २०८१ मा मेष राशि हुनेहरूका लागि शुभ फलदायी नै रहनेछ । बृहस्पति र शनिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । शुभ र मङ्गल कार्यको योग पनि रहनेछ । व्यवसायीका सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । सन्तान सुख पनि मिल्नेछ । राहुले भने अनावश्यक झमेलामा पार्नसक्छ । यो वर्ष ग्रहगोचर राम्रो छ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोस र जाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर पनि मिल्नेछ । नयाँ कामहरू पनि पाउने योग छ । गुरूको अनुकूलताले बोलीको प्रभाव बढ्नेछ । भाग्य बलियो छ । धार्मिक कार्यमा धेरै प्रगति देखिन्छ । शैक्षिक व्यवसाय गर्नेका लागि समय वर्षभरि नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढनेछन् । 

विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पतिपत्नी बिचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरूले सम्झनेछन् । विद्यार्थी जीवनमा प्रेमप्रसङ्ग अघि बढ्दा खर्चमा बढोत्तरी हुन सक्ने भएकोले संयम हनुहोला । चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघि बढ्नेछ । राहु बाह्रौँ भएकोले अरुबाट आलोचना हुने, काममा बाधा आउने धनमाल हराउने सम्भावना रहेकोले बोल्न विचार पु¥याउनु होला । टाउकोमा राहु बसेकोले पीडा हुने हातका नशा कमजोर हुने दाजुभाइ र सन्तान सहयोगीहरूसँग विमति वर्षभरि नै छ । अरुको विश्वास गरिहाल्नु उचित नहोला । आषाढ कार्तिक फाल्गुन महिनामा महत्वपूर्ण काम सकेसम्म नगर्नु राम्रो देखिन्छ । वैशाख, ज्येष्ठ, आश्विन, पौषमा आँटेका काम धेरै पूरा हुनेछन् ।

व्यापार/व्यवसायः  यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । पहिरन, स्टेसनरी, प्रेस, तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने छैन । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । पार्टनरसिपमा गरेको कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अतः विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले असार, माघ र फाल्गुन महिना बलियो रहनेछ भने जेठ, मङ्सिर र पुष महिना कमजोर रहनेछ ।

प्रेम/सम्बन्धः यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् तर जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेलाई विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मनमुटाब समेत बढ्न सक्छ साथै दाम्पत्य जीवनमा पनि मतभेद बढ्ने सम्भावना रहन्छ । टाढिएका मित्रसँग पुनः सम्बन्ध गाँसिन सक्छ । दाजु भाइसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।

शिक्षाः वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । मंसिर महिनाबाट भने राम्रो हुनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीलाई राम्रै सफलता मिल्नेछ । आईटी, स्वास्थ्य, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् ।

पेशा/रोजगार: स्वास्थ्य र घरजग्गामा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । रोजगारका लागि विदेश जानेहरूका लागि राम्रो छ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । वैदेशिक रोजगार र न्यायिक क्षेत्र भने कमजोर नै हुनेछ ।

स्वास्थ्य: घरपरिवारको औषध उपचारमा खर्च बढ्नेछ । सानातिना चोट–पटकको भय रहनेछ । हृदय तथा मानसिक समस्या आउनसक्छ, अतः आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला ।

शुभ रङ्गः पर्पल हरियो, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्कः १, ५, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । आइतबार भैरवजी र मङ्गलवार गणेशजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येक आइतबार निमुखा पशुपक्षीलाई खानेकुरा दिने र आइतबार कै दिन वृक्षरोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ