arrow

वृष राशिलाई यो वर्ष मिश्रित फल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-brish-taurus.jpg

काठमाडौँ । वृष राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ र ग्रह गोचर समग्रमा अनुकूल नै छन् । राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ, सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । केतु प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला । जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुनेहरूको लागि भने नराम्रा फल लाग्दैन । 

अतः मिश्रित फल पाइनेछ । यो वर्षको आय व्ययलाई हेर्दा अवस्था राम्रो रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने भए पनि आम्दानी राम्रै हुने भएकोले आर्थिक कठिनाई आउने छैन । वर्षको सुरुमा केही नराम्रा लक्षणहरू देखापरे तापनि बैशाख १७ गते दिउँसो ४ः११ बजे गुरू वृषमा प्रवेश गर्दा केन्द्रादि दोषले चिन्ता बढाए पनि गुरूको दृष्टि पाचौँ, सातौँ र नवौँ रहने र राहु एकादश स्थानमा रहेकोले धन प्रसस्त कमाउने अवसर मिल्नेछ । 

शनिको अनुकूलताले सार्थक तथा प्रशस्तै लाभ हुने यात्रा र मान सम्मान मिल्नेछ तथापि शनिको दृष्टि बाह्रौँ, चौथा, सप्तम रहने र शनिको दृष्टि नै प्रवल हुने हुँदा प्रेममा खटपट भैरहने, पति पत्नीबीच विवाद प्रसस्त बढ्न सक्ने, घरेलु समस्याले सताउने, मित्र तथा आफन्तले धोका दिन सक्ने भएकोले संयम रहनु होला । 

माता पिता र सन्तानसँगको मतभेद थप बढ्नेछ । गुरूको अनुकूलताले सन्तानहरूबाट सम्मान र पढाइमा सुधार आउनुको साथै सोचेर निर्णय गर्दा बौद्धिकताबाट ठूलो सफलता प्राप्त हुनेछ । अवसरलाई समेट्नु राम्रो होला । संयम रहँदा नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । 

राज्यबाट पाउने सहयोग कायमै रहने र कूटनीतिक क्षेत्र बलियो रहने भए पनि सत्रु प्रसस्त हुने भएकोले संयम हुनु पर्ला । हड्डी, नशा र पेटको समस्या बढी हुने भएकोले खानपानलाई वर्षभरि नै ध्यान दिनु पर्ला । गोपनीयतामा निरन्तर रहनु उचित छ । चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरीत लिङ्गीबाट टाढा रहनु वेश हुन्छ । श्रावणमा पराक्रम बढ्ने अधुरा काम पूरा हुने र नयाँ कामको आरम्भ हुने, कार्तिकमा शत्रु नाश र धन लाभ, फाल्गुनमा सामाजिक र राष्ट्रिय सम्मान, चैत्र महिनामा प्रयास गर्दा धेरै धन कमाउन सफलता मिल्नेछ । बैशाख, भाद्र, पौष महिनामा खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने र मन चिन्तित हुने भएकोले संयम हुनु पर्ला । 

व्यापार/व्यवसायः यसवर्ष व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो नरहन सक्छ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । खाद्य पदार्थको लगानीबाट त्यति फलदायी नहोला । आर्थिक दृष्टिले जेठ, साउन र फाल्गुन महिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्धः प्रेमी वा प्रेमिकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहेको छ । प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न अफ्ट्यारो पर्ला । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्नेछ । शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ ।

शिक्षाः यो वर्ष पढाई लेखाइको लागि विदेश जाने योग छ । विदेश जाने विद्यार्थीले परीक्षामा राम्रो अङ्क हासिल गर्न सक्छन् । व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । भाषा, कृषि र वाणिज्य विषय भने कमजोर रहन सक्छ ।

पेशा/रोजगारः यो वर्षको ग्रह गोचर हेर्दा दुई चार पटक मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ । राजनैतिक क्षेत्रमा आवद्ध जातकलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ, तर अपजसको सामना भने गर्नुपर्ला

स्वास्थ्यः आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठूलो नोक्सानी बेहोर्नु पर्ला र स्वास्थ उपचारमा धन खर्च हुन सक्छ । वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग काम हुन सक्छ । प्रजनन र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर नियमित व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।

शुभरङ्गः सेतो, पर्पल, रातो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्कः २, ४, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः ग्रह पिडाबाट बच्न र शुभ फल प्राप्त गर्न प्रत्येक शनिबार संकटा मन्दिरमा दियो बाल्ने । भोका र असहायलाई सहायता गर्नाले ग्रहपीडा कमभई भाग्यमा वृद्धि हुनेछ । बृहस्पति, केतु र शनिको शान्ति गर्ने र शनिबार दुर्गाजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि दुर्गा माताजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ