arrow

नयाँ वर्षको दिन सिस्नो लगाएर  ‘विषु पर्व’ मनाउने परम्परा 

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८१ वैशाख १ शनिबार
sisno-parba.jpg
तस्बिर – फाइल ।

डडेल्धुरा । नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०८१ साल शुरू भएको छ । देशभर विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाइरहँदा सुदूरपश्चिममा भने नयाँ वर्षलाई ‘विषु पर्व’का रुपमा मनाउने गरिन्छ । एक–अर्कालाई सिस्नो (एक प्रकारको वनस्पति)  लगाएर सुदूरपश्चिम क्षेत्रमा ‘विषु वर्ष’ मनाउने परम्परा रहेको हो ।

सुदूरपश्चिम क्षेत्रभरी नयाँ वर्षको पहिलो दिन सिस्नो पानी छर्केर शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ । ज्योतिषशास्त्र अनुसार चन्द्रमानको हिसाबले चैत्र शुक्ल प्रतिपदालाई नव वर्ष आरम्भ भएको दिन मानिएको छ र यस दिन सूर्य विषुवत रेखामा जाने भएकाले सुदूरपश्चिममा विषु संक्रान्ति भन्ने चलन रहेको छ । 

विषु संक्रान्तिका दिन बीस गाग्री पानीले वा नदीमा गई बीस पटक डुबुल्की मारेमा रोग व्याधि हट्ने विश्वास रहेको अमरगढी–५ डडेल्धुराका स्थानिय सुधिर जैरुले बताए । 

दोष काट्नका लागि विषु पर्वमा साली भिना, देवरभाउजू, साथीसंगीबीच भिजाएको सिस्नो लगाइने गरिन्छ । डडेल्धुरा, डोटी, अछाम, बैतडी, बाजुरा तथा दार्चुलामा यसरी सामूहिक रुपमा सिस्नो लगाउने चलन छ ।

विषु पर्व सुदूरपश्चिम क्षेत्रमा मनाईने ठूलो चाडमध्येमा एक हो । मीठोमसिनो खाएर यो पर्व मनाउने गरिन्छ । विशेषगरी, यो पर्वमा यहाँको मौलिक खाना खिर, माणा, बाबर (सेल रोटी), बटुक लगायतका परिकार पकाइन्छ । विषु पर्वमा रोजगारीको सिलसिलामा घर बाहिर रहेका दाजुभाइ घर फर्किने र छोरीचेली माइत जाने चलनसमेत रहेको स्थानीय गीता भण्डारीको भनाइ छ । 

सामान्यतया नयाँ वर्ष अर्थात् वैशाख शुरू भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरू हुन्छ । सिस्नो लगाउँदा शरीरका सबै विषाक्त वस्तु नष्ट हुने, छालाको रोग निको हुने र वर्षभरि रोगव्याधीले नछुने मान्यता राखिन्छ । संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउँदा नयाँ वर्षमा विषालु जीवबाट बच्न सकिने धार्मिक मान्यता रहेको पण्डित रामचन्द्र भट्टले बताए ।

विषु पर्वमा यहाँका विभिन्न धार्मिक शक्तिपीठहरुमा मेला लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन विषु पर्वमा रमाईलो गरेर सिस्नो खेल्दा सकारात्मक सोच र नयाँ काम गर्ने जाँगर बढ्ने बिश्वास रहेको छ ।

पुरानो पुस्ताले सिस्नो पानी छर्कने, स्नान गर्ने, नयाँ पहिरन लगाउने चलन गर्दै आएको भएपनि अहिलेको युवा पुस्तावाट भने यो लोप हुँदै आएको छ । अहिले सिस्नो लगाउनुको साटो मोबाइलमा एसएमएस तथा फोन मार्फत दिइने शुभकामना आदान प्रदानले विषु पर्वको मौलिकता हराउँदै गएको पाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ