arrow

एसीसी प्रिमियर कप

नेपालको लगातार दोस्रो जित, कतारलाई ३२ रनले हरायो, दिपेन्द्रको कीर्तिमान

दिपेन्द्रले एकै ओभरमा छ छक्का हाने, कुशलको आक्रमण, आसिफको संयम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
nepal-cricket-fielding.jpg

काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार मलेसियामाथि ५ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा शनिबार कतारलाई ३२ रनले पराजित गर्यो । 

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१० रन बनायो । नेपालले आक्रामक ब्याटिङ गर्दै दुई खेलाडीको अर्धशतकमा उक्त योगफल बनाएको हो । 

खेलमा आसिफ शेखको संयम तथा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमणमा नेपालले उक्त योगफल बनाएको हो । 

ऐरीले २१ बलमा अविजित रहँदै ६४ रन बनाए । उनी एक्लैले ७ छक्का हाने । दिपेन्द्रले एकै ओभरमा ६ छक्का  हानेर रेकर्ड राखे । दिपेन्द्र अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङ्गल्याण्डविरुद्ध सन् २००७ मा र वेस्ट इण्डिजका केरन पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

एक दिवसीय विश्वकपमा सन् २००७ मा दक्षिण अफ्रिकाका हर्सल गिब्सले नेदरल्यान्ड्सविरुद्ध पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यसअघि दिपेन्द्रले चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउने क्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । तर त्यो एकै ओभरमा भने सम्भव भएको थिएन । 

त्यस्तै आसिफ शेखले ४१ बलमा ५२ तथा मल्लले १८ बलमा ३५ रन बनाए । कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाए । 

जवाफमा कतारले ९ विकेटको क्षतिमा १७८ रन बनाउन सक्यो । कप्तान मुहम्मद तन्वीरले ३३ बलमा ६३ रन बनाएको इनिङ्समा अलराउन्डर दिपेन्द्रसँगै ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट लिए । कुशल र अविनाश बोहराले १–१ विकेट लिए ।

पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दा कतार भने हङकङसँग २६ रनले पराजित भएको थियो । 

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् । 

समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । 

नेपाल र मलेसियाबीचको पहिलो खेल
नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।  

ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए । 

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए । 

शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । 

दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए । 


    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ