arrow

एसीसी प्रिमियर कप

हङकङविरुद्ध नेपालको कसिलो बलिङ, जितका लागि मात्र ११५ रनको चुनौती

अविनाश बोहराले ३, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले १ विकेट लिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
nepal-t20-24-04-15.jpg

काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा अहिले नेपालले हङकङसँग खेलिरहेको छ । 

जितका लागि नेपालले ११५ रनको सामान्य चुनौती पछ्याउँदैछ । यसअघि खेल टस नहुँदै वर्षाले गर्दा अवरुद्ध हुँदा ढिलो शुरु भएकाले १८ ओभरमा झारिएको खेलमा हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै एक बल खेल्न बाँकी छँदै अलआउट भएर ११४ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि अविनाश बोहराले ३ तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । करण केसीले १ विकेट लिए । दुई खेलाडी रनआउट भए ।  

ऐरीले अन्तिम ओभर बलिङ गर्दै ५ बलमा ६ रन दिएर २ विकेट लिएका हुन् । अब नेपालले १८ ओभरको खेलमा मात्र ११५ रन बनाए पुग्नेछ । 

यो खेलमा जित हासिल गर्दा समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपालले सेमिफाइनलमा ठाउँ बनाउन सक्नेछ । 

यो खेलमा नजर नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीमाथि नै परेको छ । किनकि यसअघिको कतारविरुद्धको खेलमा उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । 

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् । 

समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । 

नेपाल र कतारबीचको दोस्रो खेल
नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो । 

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१० रन बनायो । 

खेलमा आसिफ शेखको संयम तथा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमणमा नेपालले उक्त योगफल बनाएको हो । 

ऐरीले २१ बलमा अविजित रहँदै ६४ रन बनाए । उनी एक्लैले ७ छक्का हाने । दिपेन्द्रले एकै ओभरमा ६ छक्का हानेर रेकर्ड राखे । दिपेन्द्र अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङ्गल्याण्डविरुद्ध सन् २००७ मा र वेस्ट इण्डिजका केरन पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

एक दिवसीय विश्वकपमा सन् २००७ मा दक्षिण अफ्रिकाका हर्सल गिब्सले नेदरल्यान्ड्सविरुद्ध पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यसअघि दिपेन्द्रले चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउने क्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । तर त्यो एके ओभरमा भने सम्भव भएको थिएन । 

कतार विरुद्धको खेलमा आसिफ शेखले ४१ बलमा ५२ तथा मल्लले १८ बलमा ३५ रन बनाए । कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाए । 

जवाफमा कतारले ९ विकेटको क्षतिमा १७८ रन बनाउन सक्यो । कप्तान मुहम्मद तन्वीरले ३३ बलमा ६३ रन बनाएको इनिङ्समा अलराउन्डर दिपेन्द्रसँगै ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट लिए । कुशल र अविनाश बोहराले १–१ विकेट लिए ।

नेपाल र मलेसियाबीचको पहिलो खेल
नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।  

ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए । 

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए । 

शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । 

दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए । 


    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ