arrow

एमाले र माओवादीले पेलेपछि एस कांग्रेससँग वैकल्पिक शक्ति बनाउने तरखरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
prachanda-oli-madhav-80.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीलाई पेल्न थालेपछि नेपाली कांग्रेस सहितको गठबन्धनबारे चर्चा शुरु भएको छ । 

एसका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताउदै सुदूरपश्चिम प्रदेश सरकार गठनमा विद्रोह गरेपछि यस्तो चर्चा शुरु भएको हो । 

बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भैसकेको र शुरुमा सुदूरपश्चिम प्रदेश नेकपा एसलाई दिनुपर्ने माधव नेपालको मागप्रति मूलतः एमाले र माओवादी सकारात्मक नबनेपछि वैकल्पिक मोर्चाबारे छलफल शुरु भएको हो ।  

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रकरणमा ओली र प्रचण्डले सहमति पालना नगर्दा अप्ठेरो परेको बताएका थिए ।  

अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाएका थिए ।  

‘अहिले समीकरण भत्काउनुपर्छ भन्ने छैन तर हेपिनुपर्छ भन्ने पनि होइन’, नेपालले सचिवालय सदस्यहरुसँग भनेका थिए । 

उनले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले गरेको सम्झौता पालना नभएको बताएका थिए । केन्द्र  र प्रदेश सरकार सञ्चालनमा एमाले माओवादी एकलौटी ढंगले अघि बढ्न खोजेको नेपालको आरोप थियो । 

माधव नेपाल निकट नेताहरुले कांग्रेस सहितको बैकल्पिक गठबन्धनको चर्चा गरेपछि मंगलबार बिहान एसका वरिष्ठ नेता झलनाथ खलालले प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । 

उनले अहिले गठबन्धन भत्काउन एस पार्टी तयार नभएको बताएका थिए । यद्यपि खनालको पार्टीमा खासै पकड छैन । 

उता कांग्रेससहितको गठबन्धन बनेमा नेकपा एसका अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने बताइएको छ । सो पार्टीका सचिव मेटमणि चौधरीले कांग्रेससँग गठबन्धन भएमा राप्रपा, जसपा पनि गठबन्धनमा जोडिने दाबी गरेका छन् । 

अध्यक्ष नेपालले आफूहरू सत्ता गठबन्धनमा सहभागी हुँदा मुलुकको भविष्य र कम्युनिष्ट आन्दोलनलाई सहयोग पुग्ने बुझेर सहयात्री बने पनि विगतको कोर्ष करेक्सनतर्फ प्रचण्ड र ओली नलागेको बताएका छन् । 

अध्यक्ष नेपालले राष्ट्रिय सभा उपाध्यक्ष, उपचुनाव, राष्ट्रिय सभा सदस्यमा मनोनितका साथै मुख्यमन्त्रीका सवालमासमेत कोर्ष करेक्सनतर्फ दुई नेता नलागेको बताएका थिए । 

उनले राष्ट्रिय सभाको उपाध्यक्ष आफ्नो पार्टीलाई नदिएको विषयमा पनि गुनासो गरेका थिए । ‘श्रृंखलाबद्ध रूपमा सहमति पालना भइरहेका छैनन् । सङ्घीय र प्रदेश सरकारमा संलग्न रहने तथा पोजिसनअनुसार सहभागिता र सर्भिस डेलिभरी गर्ने कुरामा समझदारी विकास गर्ने कुरामा दरार उत्पन्न भएको छ’, अध्यक्ष नेपालको भनाइ थियो । 

सोमबारमात्रै एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी लक्षित टिप्पणीले पनि ओली कोर्ष करेक्सनको पक्षमा नरहेको अध्यक्ष नेपालसँगको छलफलमा सहभागी नेताहरूले बताएका थिए । 

जवाफमा अध्यक्ष नेपालले अहिले आफूहरूलाई भड्काउने र उत्तेजित गरेर फेरि अर्को समीकरण बनाएर फाइदा उठाउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए । 

गठबन्धनभित्र ओली र नेपाल झगडामा उत्रिँदा प्रधानमन्त्री प्रचण्डलाई झगडा मिलाउनै कठिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिमा असन्तुष्ट एकीकृत समाजवादीले गठबन्धन तोड्दा सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा अन्योल देखिएपछि सोमबार ओलीको अभिव्यक्तिले झन् भड्किएको अवस्था छ । 

भागबन्डालाई लिएर साझेदार दलहरूसँग एकीकृत समाजवादी रुष्ट बनेपछि यो समीकरणको भविष्यमाथि नै थप संशय पैदा भएको हो । राष्ट्रियसभा उपाध्यक्ष पाउने सहमति गरेर सरकारमा सहभागी भएको एकीकृत समाजवादी सुदूरपश्चिमको नेतृत्व पनि नपाउने अवस्थामा पुगेको छ । जसले गर्दा संघीय सरकारको गणितमा जोडघटाउ शुरु हुन थालेको छ । 

नेकपा एसका प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले पनि अहिलेको गठबन्धनसँग आफ्नो पार्टी सन्तुष्ट नभएको प्रष्ट रुपमा बताए । 

‘हाम्रो पार्टी तत्कालै कांग्रेससँगको समीकरणमा सहभागी हुँदैन, वामपन्थी समीकरणमा एक–आपसमा सम्मान र सहकार्य हुनुपर्छ भन्ने मान्यता राखेको छ यसलाई एमाले र माओवादीले गम्भीरपूर्वक लिनुपर्छ’, यदि, त्यो ढंगले दलहरू अगाडि बढेनन् भने उनीहरूकै लागि दुर्भाग्य हुनेछ, सरकार पहिलो प्राथमिकता होइन तर गठबन्धन भत्किन पनि सक्छ’, प्रचार विभाग प्रमुख खतिवडाले भने । 

नेकपा एस अहिलेको गठबन्धनबाट बाहिर आउने हो भने उपेन्द्र यादव नेतृत्वको जसपा पनि बाहिरिने एसको अनुमान रहेको छ । 

साथै नाउपाको विवादले अहिलेको गठबन्धनलाई असर गरिरहेकाले नाउपा पनि कांग्रेससँगको गठबन्धनमा जान सक्ने उसकै अनुमान छ । 

त्यस्तै १४ सिट भएको राप्रपाले कांग्रेसलाई साथ दिँदा जनमोर्चा पनि थपिने अनुमान एसको रहेको छ । 

कांग्रेसको ८८, जसपाको १२, नेकपा एसको १०, राप्रपाको १४, जनमोर्चाको एक सहित नाउपा र अन्य केही स्वतन्त्रसमेतको सहकार्य हुन सक्ने अनुमान गरिएको छ । 

तर यो त्यति बलियो अंक गणित नभएकाले यसलाई कसरी टुंगोमा पुर्याउन सकिन्छ भनेर कांग्रेससँग संवाद आवश्यक रहेको नेकपा एसका नेताहरुले बताएका छन् । 

नेकपा एसले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तत्काल नपाउने भएपछि आइतबार माधव नेपाल बिच्किएर बालुवाटारबाट हिँडेका थिए । 

जसको परिणाम अहिले वैकल्पिक गठबन्धनको बहससम्म आइपुगेको छ । स्रोतका अनुसार मुख्यमन्त्री नपाउने भएपछि नेता नेपालको संकेतका आधारमा सुदूरमा एकीकृत समाजवादी, कांग्रेस, नाउपाको रेशम चौधरी पक्ष र राप्रपाका सांसदले वैकल्पिक गठबन्धनलाई साथ दिन पुगेका हुन् । 

उक्त गठबन्धनले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्दै प्रदेश प्रमुख नाजिर मियाँसमक्ष दाबी पेश गरिसकेको छ । 

लक्ष्मणकिशोरले मुख्यमन्त्रीका लागि दाबी पेश गरेलगत्तै एमाले र माओवादीको समर्थनमा नाउपाकै रञ्जिता पक्षधर कैलाश चौधरीले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् । 

सुदूरपश्चिममा हाल ५१ सदस्यीय प्रदेश सभा रहेको छ । जसमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका १०, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, स्वतन्त्र १ र राप्रपा १ सांसद छन् । कांग्रेसका एक सांसदको निधन भएको छ । जसमा सरकार बनाउन २६ जना सांसदको आवश्यकता पर्छ । यही प्रदेशको मुख्यमन्त्री नियुक्तिबाटै गठबन्धनमा दरार आएको नेताहरुको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ