arrow

किरात धर्मगुरु भेट्न लारुम्बा पुगे शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
shekhar-atmananda-lindgen.jpg

इलाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आज किरात धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रममा पुगेका छन् ।  उपनिर्वाचनको प्रचारका लागि केही दिनदेखि इलाम २ मा रहेका डा. कोइरालाले आज इलाम २ मै रहेको इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन् ।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमासमेत प्रहार हुन थालेको गुनासो गरे ।

लिङ्देनले पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै शेखर कोइरालालाई भने, 'गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईले निकै राम्रो भूमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु ।’

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए । 

कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।

यसअघि हिजो कोइरालाले इलाम २ का नेताहरुसँग छलफल गरेका थिए । उनले कांग्रेसी नेताहरुलाई उपनिर्वाचनमा कांग्रेस जसरी पनि विजयी हुनुपर्ने बताएका थिए । 

उनले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम–२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताए ।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको विषय भएको छ’, कोइरालाले भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जति जना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने उनले बताए । 

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उमेदवार हुँ भनेर निर्वाचनमा लाग्नमेत निर्देशन दिए । 

बैशाख १५ गते हुने निर्वाचनका लागि डा कोइराला इलाम पुगेका हुन् । शीर्ष तहका नेताहरु इलाम पुग्ने क्रम यहाँबाटै शुरु भएको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि इलाम पुगेर चुनावी महोल तताइरहेका छन् । उनी चुनावभर इलाममै बस्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ