arrow

नेपाल यूएईसँग पराजित, सकियो एसिया कप खेल्ने सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
nepal-uae-half-game-acc.jpg

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ  ।  नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । 

 जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य यूएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । 

योसँगै नेपालको एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । यस प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने टी–२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देश एसीसी इमर्जिङ टिम्स कपमा छनोट हुने छन् ।

 

यूएईका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।
    
साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो । 

पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो । 

त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई-दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक-एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ