arrow

मुक्तिनाथ मन्दिरमा सोमबारदेखि ब्रम्होत्सव

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ वैशाख १५ शनिबार
kavre-bramotsav.jpg

काभ्रे । पनौती नगरपालिका वडा नम्वर ५ बाँसघारी सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरमा बैशाख १७ गते सोमबारदेखि १९ गतेसम्म दोश्रो ब्रम्होत्सव गरिने भएको छ । शुक्रबार दोश्रो ब्रम्होत्सव तयारी मूल समारोह समितिले मुक्तिनाथ मन्दिरको प्रांगणमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

२०७३ सालमा लगाइएको सप्ताह ज्ञान महायज्ञको रकमबाट २०७४ मङ्सिर १४ गते निर्माण शुरु गरिएको मन्दिर २०७८ असोज २५ मा निर्माण सम्पन्न गरी नियमित पूजा आजा हुँदै आइरहेको छ ।

पत्रकार सम्मेलनमा मुक्तिनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष कुमार थापाले नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर धेरै टाढा भएकाले सबै भक्तजनहरुलाई सहज बनाउनको लागि मुस्ताङमा रहेको मुक्तिनाथबाट शिला ल्याएर मन्दिर स्थापना गरिएको जानकारी दिए । उनले पनौतीमा रहेको र मुस्ताङमा रहेको मुक्तिनाथ एउटै भएकोसमेत स्पस्ट पारे ।

पनौती नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विनोद खत्रीले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न धेरै टाढाबाट भक्तजनहरु आउने गरेको बताए । उनले मन्दिर निर्माणले यस वरपरको व्यापार व्यवसाय फस्टाएको भन्दै अझै यसलाई प्रचार प्रसार गरेर लान आवश्यक भएको स्पस्ट पारे ।

मुक्तिनाथ मन्दिरको दोस्रो ब्रम्होत्सवमा आगामी बैशाख १७ गते पूर्वाङ्ग हुनेछ । पूर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्रम्ह्वाणवरण, अङ्कुरारोपण, द्धारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण हुनेछ । १८ गते नित्य पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको बाजागाजाका साथ मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणी धामसम्म यात्रोत्सव गरिने बताइएको छ ।

ब्रम्होत्सवको अन्तीम दिन १९ गते विहान ११ बजे महापूर्णाहुती श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्धारा महाभिषेक र कल्याण उत्सव गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ