- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० क्रिकेट श्रृंखलाको चौथो खेल आज हुँदैछ । खेल दिउँसो १ बजे हुनेछ । नेपाली टिमले आगामी जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिने भएकाले यो श्रृंखला नेपाली टिमका लागि निकै नै महत्वपूर्ण रहेको छ ।
तर नेपाली खेलाडीहरु खुलेर खेल्न सकिरहेका छैनन् । पहिलो खेलमा नेपाल विजयी भयो । नेपालले घरेलु मैदानमा खेलिरहँदा पिचसँग अभ्यस्त हुन नसकेका वेष्ट इन्डिजका खेलाडीहरुले त्यसपछिका दुवै खेल जितेर श्रृंखलामा २–१ को अग्रता भएको छ ।
उपाधि भिडन्त कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्छ । यो श्रृंखला भन्दा पनि नेपालले विश्वकपका लागि उत्रने खेलाडीहरुलाई अबका दुई खेलमा मौका दिनुपर्छ । किनकि अभ्यास बिना केही हुँदैन ।
नेपालको सबैभन्दा सशक्त पक्ष भनेको बलिङ हो । पछिल्लो समय नेपालको बलिङ निकै खस्केको छ । त्यस्तै ब्याट्सम्यान पनि सेट हुन सकिरहेका छैनन् ।
अबका दुई खेलमा लयमा फर्कनुको विकल्प छैन । यसअघिको एसीसी प्रिमियर लिगमासमेत नेपालले सेमिफाइनल र तेस्रो स्थानको भिडन्त हारेर कमजोर सावित भइसकेको छ ।
तेस्रो खेलको नतिजाः
खेलमा वेष्ट इन्डिज ७६ रनले विजयी भयो । वेष्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २२७ रन बनायो ।
जोन्सन चार्लसले ६१ बलमा अविजित रहँदै ११९ रन बनाए । त्यस्तै आन्द्रे फ्लेच्चरले ३३ बलमा ५३ रन बनाए ।
कमजोर बलिङ गरेको नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए ।
जवाफमा नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रनमात्र बनायो । विश्वकपअघि खेलाडीलाई मौका दिने भन्दै नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टिम उतारको थियो । तर ऐरीको टिम सस्तैमा समेटियो । लोकेश बम र करण केसीले समान २८ रन बनाए । हेडेन वाल्शले ३ विकेट लिए ।
दोस्रो खेलको नतिजाः
दोस्रो खेलमा वेष्ट इन्डिज १० रनले विजयी भयो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जितका लागि १६१ रनको चुनौती पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सक्यो ।
कप्तान रोहित पौडेलमात्र टिकेको खेलमा पौडेलले ४८ बलमा अविजित रहँदै ७१ रन बनाए । त्यस्तै गुल्सन झाले ११ बलमा २६, लोकेश बलमे १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा ११ रन बनाए ।
त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । वेष्ट इन्डिजका लागि गुडाकेश मोटी र अबेड म्याक्कोएले २–२ विकेट लिए । तीन खेलाडी रन आउट भए ।
खेलमा टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रनमात्र बनाउन सक्यो ।
यसअघि वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।
आन्द्रे फ्लेटचरले ३६ बलमा ४३ रन बनाए । गुडाकेश मोटीले ८ बलमा अविजित रहँदै ३३ रन बना । त्यस्तै कप्तान रोस्टन चेजले २२ बलमा २३ रन जोडे ।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि पहिलो खेल जितेर नेपाल निकै नै उत्साही देखिए पनि दोस्रो खेलमा भन फेरि खराब खेलेको छ ।
पहिलो खेलको नतिजाः
शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भयो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ६ छक्का र १० चौकाको मद्धतले ११२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रन बनाए ।
वेष्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेड म्याक्कोएले समान २–२ विकेट लिए ।
यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको वेष्ट इन्डिजले आक्रामक खेल्दै ५ विकेटको क्षतिमा २०४ रन बनायो ।
कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए । त्यस्तै ओपनर एलिक एथानाजले २५ बलमा ४७ तथा केसी कार्लीले २६ बलमा ३८ रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल ऐरी, अविनाश बोहरा र रोहित पौडेलले १–१ विकेट लिए । कमजोर बलिङ गरेको नेपालले १७ रन अतिरिक्तका रुपमा दिएको थियो ।
आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । पहिलो खेलबाट कप्तान रोहितको लामो समयदेखि खड्किएको ब्याटिङ पनि खुलेको छ । नेपालको सबैभन्दा ठूलो ‘स्ट्रेन्थ’ बलिङ भए पनि बलिङको लय पकड्न सकेको छैन ।
पाँच खेलको टी–२० श्रृंखला खेल्न पहिलो पटक वष्ट इन्डिजको ए टिम नेपाल आएको हो ।