arrow

खडेरीले सुक्न थाल्यो मकै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
jhapa-maize.jpg

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,” उनले भने, “तर, “सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्‍याउने सम्भावना छ ।”

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् ।

मेचीनगर-१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन् । विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ । यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ ।

झापा गाउँपालिकाको मकैजोनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ र उपकरणमा अनुदान उपलब्ध गराउँदै आएको छ । पाँच सय हेक्टर जमिनमा भएको खेतीलाई मात्र जोन घोषणा गर्ने चलन छ । झापा गाउँपालिका र कनकाई नगरपालिकाले मकै मकै खेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलको ६० प्रतिशत रकम अनुदान दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ