arrow

सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनका अस्वभाविक असर देखिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
sagarmatha.jpeg
तस्बिर-फाइल

सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप-२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ । 

तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरुको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका खुम्बु हिमनदी छोटिँदै गएका छन् । यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष बरफ बिलाउँदै गएको जनाइएको छ । 

सगरमाथा आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरुको अनुभव छ । आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधार शिविरमै छोडेर फर्किने गरेका छन् जसका कारण आधार शिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको छ । 

पछिल्लो एक दशकमा सगरमाथा आधार शिविर भासिँदै गएको करिब १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका साङ्गे शेर्पाले बताए । यसका कारण आधार शिविर क्रसर उद्योगजस्तो देखिन थालेको उनको भनाइ छ । 

“सगरमाथासहितका यस क्षेत्रका हिमालहरु कालो बन्दै गएको, हिमालमा जति हिउँ हुनुपर्ने हो त्यस्तो छैन । बेस क्याम्प नै पनि धेरै परिवर्तन भएको छ, बेस क्याम्प वर्षैपिच्छे खाल्डोमा परिणत हुँदै गएको छ, यो त राम्रो हैन नि,” पर्यटन व्यवसायी शेर्पाले भने । 

आधार शिविरमा पहिलो जाने क्रम बढ्दै गएको स्थानीय जानकारहरु बताउँछन् । विगतमा सम्म अवस्था रहेको आधार शिविरमा अहिले जताततै पहिरोका कारण खाल्दो देखिएको आधार शिविरमा भेटिएका अर्का व्यवासायी पेमारिन्जी शेर्पाले बताए ।

“मलाई नै थाहा हुँदा पनि उहाँ बेस क्याम्प निकै चाउर थियो, सम्म परेको थियो तर अहिले त पूरै खाल्डोजस्तो भएको छ, पहिरोले गरेर यहाँको ग्लासियरहरु पनि घटदै गएको छ,” उनले भने । 

जलवायु परिवर्तनको असरले खुम्बु क्षेत्रको हिमालमा मात्रै नभएर बालीनाली र जनजीवनमा समेत प्रभाव परेको स्थानीयवासी बताउँछन् । विगतमा गहुँ, फापर, जौजस्ता बालीहरु प्रशस्त उत्पादन हुने खुम्जुङ, थामेलगायत ठाउँहरुमा पछिल्लो समय उब्जाउन नै नहुने गरेको खुम्जुङकी पासाङल्हामु शेर्पाले बताइन् । 

उब्जाउ शक्ति घटेसँगै खेती गर्ने कृषक नहँुदा अधिकांश बारीहरु बाँझो हुने क्रम बढेको उनको भनाइ छ । “यो खुम्जुङ क्षेत्रमा पहिला कति धेरै उवा, जौ, फापरहरु खेती हुन्थ्यो तर अहिले त रोपे पनि खासै फल्दैन त्यसैले होला अहिले त खेती गर्नै छोड्यो, सबै बारीहरु बाँझै छ अब त,” पासाङ ल्हामुले भनिन् ।

केही वर्षयता हिमाली भेगका महिलामा प्रजननसम्बन्धीका समस्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । महिनावारीको अवधि लम्बिने तथा बाँझोपनाको समस्या समेत बढी देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन् । कतिपय महिलाहरु स्वास्थ्य समस्या पालेरै बस्ने गर्दछन् भने स्वास्थ्य संस्था पुग्ने महिलामा प्रजनन समस्या लिने आउने गरेको उनको भनाइ छ ।

हिमालमा बेमौसमी हिमपातको क्रम बढ्दै गएको छभने तापक्रमसमेत अस्वाभाविक रुपमा बढ्दै गएको स्थानीयको अनुभव छ । मङ्सिर, पुस, माघमा हिउँ नपरेर चैत, वैशाखमा हिउँ पर्ने गरेको लबुचेका सङ्गम राईले बताइन् ।

“यस वर्ष पनि चैत, वैशाखमा धेरै हिमपात भयो, जबकि त्यो हिमपात पुस, माघमा हुनुपथ्र्यो, समय त कति फेरियो फेरियो भनेर साध्यै छैन्,” उनले भनिन् ।

शक्ति राष्ट्रहरुले सञ्चालन गरेको उद्योगहरुको असर हिमाली क्षेत्रमा परेको वातावरणविज्ञ डा राजन थापाको भनाइ छ । यही तवरबाट निरन्तर अघि बढ्ने हो भन्ने नेपालका हिमालहरु केही दशकमै सङ्कटमा पर्न सक्ने उनको चिन्ता छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विश्व समुदाय नै अग्रसर हुनुको विकल्प नरहेको उनको तर्क छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ