arrow

जेठका लागि ११ बैंकले घटाए ब्याजदर, सातको यथास्थिति, कसको कति ? [तालिकासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
banks-nepal-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जेठ महिनाका लागि ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनाअनुसार ती बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर घटाएका हुन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा १० वटा तथा साधारण बचत खातामा ८ वटा बैंकले ब्याजदर घटाएका छन् ।  

प्रकाशित नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले साधारण बचत खाताका लागि न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.६५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अघिल्लो महिना यस्तो न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.७५ प्रतिशतसम्म रहेको थियो । 

त्यस्तै एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले ५ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । अघिल्लो वर्ष यस्तो ब्याजदर ५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म थियो । 

एकवर्षे संस्थागत मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर ४ प्रतिशतदेखि ६.३६ प्रतिशतसम्म रहेको छ । अघिल्लो महिना ४ प्रतिशतदेखि ६.७० प्रतिशतसम्म रहेको थियो । 

नयाँ तालिकाअनुसार अहिले बचत खातामा सबैभन्दा धेरै नेपाल बैंक र एनआईसी एसिया बैंकले ३.६५ प्रतिशत प्रस्ताव गरेका छन् । त्यस्तै व्यक्तिगत मुद्दती खातामा एनआईसी एसिया बैंकको ७.७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा सोही बैंकको ६.३६ प्रतिशत ब्याज नै सर्वाधिक देखिएको छ । 

बचत खातामा सबैभन्दा कम ब्याजदर प्रभु बैंक, कृषि विकास बैंक र एभरेष्ट बैंकले ३ प्रतिशत तोकेका छन् । त्यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र एनएमबी बैंकको ५ प्रतिशत छ । संस्थागत मुद्दतीतर्फ हिमालयन बैंकले सबैभन्दा कम ३.५ प्रतिशत मात्रै तोकेको छ ।  

कसले बढाए, कसले घटाए ब्याजदर ? 

जेठ महिनाका लागि २० वाणिज्य बैंकमध्ये ७ वटा बैंकले यसपटक ब्याजदरमा कुनै पनि प्रकारका परिवर्तन गरेका छैनन् । यसरी अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र प्रभु बैंक रहेका छन् । बाँकी बैंकहरुले ब्याजदरमा परिवर्तन गरेका छन् । 

त्यसरी ब्याजदर परिवर्तन गर्ने बैंकहरुमध्ये आठ वटाले साधारण बचत खाताको ब्याजदर घटाएका छन् । यी बैंकहरुमा नबिल बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक छन् ।

त्यस्तै, नेपाल बैंकले बचत खाताको ब्याजदर बढाउँदा अन्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । बैंकहरुले अन्य विशेष बचत खाताहरुमा साधारण बचत खाताभन्दा२ प्रतिशत विन्दुसम्म बढाएर ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था छ । 

त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेप अन्तर्गत एकवर्षे मुद्दती खाताका लागि ११ बैंकले ब्याजदर घटाएका छन् । यसरी ब्याजदर घटाउने बैंकहरुमा नबिल बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् । बाँकी सबै बैंकले यस्तो ब्याजदर स्थिर नै राखेका छन् । यसपटक कुनै पनि बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर वृद्धि गरेनन् । 

उता व्यक्तिगत मुद्दती खाताको ब्याजदर घटाउनेमध्ये राष्ट्रिय वाणिज्य बैंक बाहेक अरु सबै बैंकले संस्थागत मुद्दती निक्षेपमा समेत ब्याजदर घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले यस्तो ब्याजदर स्थिर राखेको छ । त्यसैले यस शीर्षकतर्फ ब्याजदर परिवर्तन गर्ने वाणिज्य बैंकहरुको संख्या १० पुगेको छ । 

प्रकाशित ब्याजदर तालिका हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीमा भन्दा संस्थागत मुद्दती निक्षेपका लागि धेरै ब्याजदर अफर गरेको देखिन्छ । हिमालयन बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरलाई बचत खाताकै ब्याजदर बराबरमा झारेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ