बैंकको अढाई अर्ब हिनामिना गरेको आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
622
Shares
काठमाडौँ । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय रकम हिनामिना प्रकरणमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।
उनीमाथि बैंकको दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोप छ । रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए । २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ सालदेखि चार वर्ष सीईओका रुपमा कार्यरत थिए ।
बाँकेका रायलाई बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
रायसँगै हिनामिना प्रकरणमा बैंकका पूर्व सीईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका छन् ।
नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए ।