arrow

रविमाथि छानबिन समिति गठनमा जुटेन सहमति, संसद अवरोध कायमै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
la-thing-02-03.jpg

काठमाडौँ । सहकारी प्रकरणमा  गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको दलहरूका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । 

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरूका बीचमा सहमतिको प्रयास भएको भए पनि नेपाली कांग्रेसले भने अनुरूपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरू (सरकार) तयार नभएपछि कांग्रेसले अवरोध कायम राख्ने भएको छ । 

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन्।

उनले भनिन् – ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरू अपुग भयो । केही कुराहरू नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभूति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन । हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ । संसदीय छानबिन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहिँ नहुने भन्ने अभ्यास कहाँबाट शुरु गर्न खोजेको हो यो चाहिँ नमिलेको छ । सरकारमा संलग्न दलहरूको कारणले अड्किएको हो ।’

त्यस्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिाछाने केन्द्रित छानबिन गर्नुपर्ने आफूहरूको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ