arrow

चौथो पटक जेठ ७ मा विश्वासको मत लिँदै प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
prachanda-11-30.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । 

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्। 

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दलको समर्थन छ । 

२०७९ सालको आमनिर्वाचनपछि १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए। दोस्रो पटक २०७९ चैत ६ मा र तेस्रो फागुन ३० प्रचण्डले विश्वासको मत लिएका थिए । 

सरकारको नेतृत्व गरेपछि पहिलो पटक २६ पुसमा प्रचण्डले त्यस बेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए।

दोस्रो पटक गत वर्षको ६ चैतमा संसद्मा २६२ सांसद सहभागी मतदानमा १७२ प्रतिनिधिसभा सदस्यले उनलाई विश्वासको मत दिएका थिए। तेस्रो पटक उनको पक्षमा १५७ र विपक्षमा ११० मत  खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ