arrow

आईपीएलको इलिमिनेटरमा बैंगलुरू र राजस्थान भिड्दै, को कति बलियो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
ipl-2024-rcb-kohli-plesis.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको इलिमिनेटरमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र राजस्थान रोयल्स भिड्दै छन् । अहमदाबादमा हुने खेल बेलुकी ७ः४५ बजेदेखि शुरु हुँदैछ । 

लिग चरणमा राजस्थान १७ अंकसहित तेस्रो तथा बैंगलुरू १४ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो । 

यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । दोस्रो क्वालिफायरमा आजको विजेताले सनराइजर्स हैदराबादसँग खेल्नेछ । 

हैदराबाद पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा धकेलिएको हो । 

कोलकाता भने फाइनलमा पुगेको हो । अब उपाधिका लागि कोलकाताले दोस्रो क्वालिफायरको विजेतासँग आगामी आइतबार खेल्नेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टिम हैदराबाद र इलिमिनेटर खेलको विजेता (राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरूबीचको खेल) भिड्ने छन् । 

बैंगलुरू र राजस्थानको आँकडा
प्लेअफमा राजस्थानले ५६ प्रतिशत तथा बैंगलुरूले ६४ प्रतिशत खेल हारेको छ । अहमदाबादको यो मैदानमा राजस्थानले ६७ प्रतिशत तथा बंगलुरूले ५० प्रतिशत खेल जितेको छ । 

बैंगलुरूले प्लेअफमा नवौँ पटक तथा राजस्थानले छैटौँ पटक स्थान बनाएको छ । दुवैको प्लेअफ त्यति राम्रो छैन । राजस्थानले ४४ प्रतिशत र बैंगलुरूले ३६ प्रतिशत खेल जितेको छ । 

दुवै इलिमिनेटरमा दोस्रो पटक आमने सामने हुँदैछन् । सन् २०१५ मा भएको प्लेअफमा बैंगलुरूले राजस्थानलाई हराएको थियो । 

बैंगलुरूले यसपालि पछिल्ला छ खेल जितेर प्लेअफमा ठाउँ बनाएको हो । आफ्नो दोस्रो खेल जितेपछि लगातार ६ खेल हारेको बैंगलुरूले त्यसपछिका लगातार ६ खेल जितेर रेकर्ड बनाउँदै प्लेअफमा ठाउँ बनाएको हो । 

बैंगलुरूले सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । राजस्थान भने पहिलो सिजनकै विजेता हो । 

यसपालिका गेम चेन्जरहरु
बैंगलुरूबाट विराट कोहली ७०८ रनसहित अरेन्ज क्यापका लागि शीर्ष स्थानमा छन् । त्यस्तै रजत पाटिदारले ३६१ रन बनाएका छन् । यश दयालले १३ खेलमा १५ विकेट लिएका छन् । 

राजस्थान यो सिजनमा लगातार चार जितसहित सनसनी मच्याउँदै आए पनि त्यसपछि भने खराब नतिजा बढी हात लाग्यो । राजस्थानका स्ट्रेन्थमा रियान परागले १३ खेलमा ५३१ रन बनाएका छन् । कप्तान सञ्जु सामसनले १३ खेलमा ५०४ रन बनाएका छन् । युजभेन्द्र चहलले १३ खेलमा १७ विकेट लिएका छन् । 

सन् २००८ (पहिलो सिजन) को विजेता राजस्थान त्यसपछि सन् २०२२ मा मात्र फाइनलमा पुगेको थियो । तर उपाधि भने जित्न सकेन । फाइनलमा गुजरात टाइटान्ससँग पराजित भएको थियो । 

कोलकाता फाइनलमा 
अहमदाबादमा मंगलबार भएको पहिलो क्वालिफायर खेलमा कोलकाता ८ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा १५९ रन बनायो । 

यो हैदराबादको जारी लिगको कमजोर स्कोर हो । हैदराबादले प्रायः २०० रन पार गरेर कीर्तिमान बनाउँदै आएको थियो । 

राहुल त्रिपाठीले ३५ बलमा ५५, हेन्रिच क्लासेनले २१ बलमा ३२ तथा कप्तान पाट कमिन्सले २४ बलमा ३० रन बनाए । मिचेल स्टार्चले ३ विकेट लिए ।

जवाफमा कोलकाताले १३.४ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । तेस्रो विकेटका लागि ९७ रनको अविजित साझेदारी गर्ने क्रममा कप्तान श्रेयस अय्यरले २४ बलमा ५८ तथा वैंकटेश अय्यरले २८ बलमा ५१ रन जोडे । रहमुल्लाह गुरबाजले १४ बलमा २३ तथा सुनिल नाराइनले १६ बलमा २१ रन बनाए । 

अंक तालिकाको लेखाजोखा
कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको हो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको हो । 

यो सिजन कोलकाता निकै नै सफल देखिएको छ । त्यस्तै हैदराबादले सबैभन्दा बढी रन बनाउने रेकर्ड तोडेको छ । 

यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले फाइनलका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । 

दोस्रो क्वालिफायरमा पुग्ने अर्को टिमको छिनोफानो तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरूबीच इलिमिनेटर खेल बुधबार हुनेछ । 

इलिमिनेटर खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । 

बैंगलुरूले लिगका पछिल्ला सबै पाँच खेल जितेर प्लेअफमा ठाउँ बनाएको हो । यसले गर्दा उसको क्वालिफायरमा पुग्ने सम्भावना पनि बलियो छ । राजस्थान शुरुआती चरणमा शीर्ष स्थानमा रहँदै आएकामा पछिल्ला चरणमा हार बेहोर्दा तेस्रो स्थानमा धकेलिन पुगेको हो । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 

लिग चरणको अंक तालिका
१४ खेलबाट २० अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, १७ अंकको सनराइजर्स हैदराबाद दोस्रो, १७ अंककै राजस्थान रोयल्स तेस्रो तथा १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा रह्यो । 

१४ अंकमै रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।  

आठौँ स्थानको गुजरात टाइटान्सको १२, नवौँ स्थानको पञ्जाब किंग्सको १० तथा पुछारको मुम्बई इन्डियन्सको मात्र ८ अंक रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ